दाङ । राष्ट्रिय सभा सदस्यको निर्वाचन आउँदो माघ ११ गते हुन गइरहेको छ । यसै बिषयलाई लिएर सत्ता पक्षीय गठबन्धन दलको बैठक आज नेपाली कांग्रेस लुम्बिनी प्रदेशको पार्टी कार्यालय भालुबाङ, दाङमा सम्पन्न भएको छ ।
गठबन्धनका साझा उम्मेदवार झक्कु प्रसाद सुवेदी र विष्णुकुमारी सापकोटालाई बिजय बनाउन सबै मतदाताहरूमा अपिल गर्ने बताइएको छ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको संयोजकत्वमा लुम्बिनी प्रदशभित्रका सबै प्रदेश सभापति र अध्यक्ष एवं प्रदेश सभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरू सम्मिलित राष्ट्रियसभा निर्वाचन प्रदेश समन्वय समिति गठन गर्ने निर्णय भएको छ ।
साथै जिल्लाका स्थानीय तहका प्रमुख/उपप्रमुख र जिल्ला नेतृत्वसंग भेटघाटको लागि माघ २ गतेबाट जिल्ला जिल्लामा जाने निर्णय गरिएको बैठक श्रोतले जनाएको छ ।
उक्त बैठकमा राष्ट्रियसभाका उम्मेदवार झक्कु प्रसाद सुवेदी र विष्णुकुमारी सापकोटा साथै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको समेत उपस्थिति रहेको थियो ।
संघीय लोकतान्त्रीक गणतन्त्रात्मक व्यवस्थाको रक्षाको लागि सत्ता पक्षिय गठबन्धनका उम्मेदवारहरुलाई माघ ११ गते हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनमा विजयी गराउन तपशिल बमोजिमको निर्णय गरिएको बताइएको छ ।