काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पटकपटकका त्रासदीपूर्ण भूकम्पबाट शिक्षा लिएर भविष्यमा फेरि भूकम्पको पीडा भोग्न नपर्नेगरि काम गर्न निर्देशन दिनुभएको छ। आज २६औँ भूकम्प सुरक्षा दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रतिरोधी संरचना निर्माण इच्छा नभएर दायित्व भएको बताउनुभयो ।
‘‘वि.स.१९९० सालमा गएको महाभूकम्पको स्मरण गर्दै २०५५ सालदेखि हामी भूकम्प सुरक्षा दिवसका रूपमा यस्तो जागरण तथा संकल्पको कार्यक्रम हरेक वर्ष गर्दै आएका छौँ। आजको दिन मूलभूत रूपमा त्यो पीडा फेरि भोग्न नपरोस् भनेर काम गर्न राष्ट्रिय संकल्प गर्ने दिन पनि हो,’’– उहाँले बताउनुभयो ।
आगामी दिनमा भूकम्पबाट कसैले ज्यान गुमाउन नपरोस्, घाइते हुन नपरोस्, कुनै पनि परिवारले कुनै खालको भौतिक क्षति भोग्न नपरोस् भन्नका लागि सबैले मिलेर काम गर्न आवश्यक रहेको उहाँले भन्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले त्यसका लागि सबैले संकल्प गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नु इच्छा होइन दायित्व हो भन्ने यथार्थ आत्मसात गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्रीले २०७२ बैशाख १२ को भूकम्पले पुर्याएको मानवीय तथा भौतिक क्षतिको हाम्रो पुस्ता साक्षी भएको बताउँदै विगतबाट गम्भीर शिक्षा लिनुपर्नेमा जोड दिनुभयो ।