अनिल नेपाली
अर्घाखाँची । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थाथी कमिटी सदस्य तथा संगठन बिभाग प्रमुख सन्तोष बुढा मगर (बिषम) ले दलाल संसदवादी व्यवस्था रहेसम्म देशमा शान्ति सुशासन कायम नहुने बताउँदै देशमा जनताको विकल्पमा बैज्ञानिक समाजवादी व्यवस्था अहिलेको प्रमुख आवश्यकता रहेको बताउनु भएको छ।
नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले बुधवार सन्धिखर्कमा आयोजना गरेको "राज्य षड्यन्त्र, वर्तमान राजनैतिक संकट र समाधान" विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपाका स्थायी समिति सदस्य समेत रहेका विषमले यस्तो बताएका हुन् । नेता विषमले समाजवाद विना समाजको विकास नहुने बताउँदै राजनीतिक दलहरु समाजवाद हुँदै साम्यवादसम्म पुग्ने प्रमुख लक्ष्य रहेता पनि जनवाद र पुँजीवाद दुई वटा बिषयलाई छुट्टाउन नसक्दा कम्युनिस्ट आन्दोलन अग्रमनको दिशामा जान नसकेकाले कहिलेकाहीँ क्रान्तिकारीले बल प्रयोगको सिद्धान्तलाई आत्मसाथ गर्ने बताउँदै क्रान्तिकारी शक्ति माथि जहिले पनि हिंसाको आरोप साम्राज्यवादी र दक्षिणपन्थीले लगाउने गरेको जिकिर गर्नुभयो ।
कम्युनिस्टहरु निरासवादी मात्र नभएर आशावादी पनि भएको बताउँदै कम्युनिस्टमा समस्याको समाधानको उपाय भएको बताउँदै नेकपामाथि जनताको आशा अपेक्षा पनि रहेकाले पटक पटक आफुहरुसँग सरकारले गरेको ३ बुँदे सम्झौता पूर्णरुपमा पालना गरी नेकपालाई समन्वय सहकार्यको वातावरण तय गर्न आग्रह गर्नुभएको थियो । एक फरक प्रसंगमा नेता विषमले माओवादी आन्दोलन रक्षात्मक सिमित गतिमा अगाडि बढेकोले माओबादीले अब आफ्नो गतिलाई नविकरण गर्नुपर्ने बताउँदै माओवादीलाई विभाजनको दिशामा लैजानको लागि १२ बुँदे राजनितिक सहमति प्रमुख रहेको जिकिर गर्नुभयो ।
कार्यक्रममा वर्तमान नेपालको अवस्था, राष्ट्रिय स्वाधिनता, गणतन्त्र, लोकतन्त्र, राज्यप्रशासन, महँगी, कालाबजारी, भ्रष्टाचार, बेरोजगारी, राजनीतिक दलहरुको सत्तालिप्सा, दलाल पुँजीवादी राज्यसत्ता, साम्राज्यवादी र प्रतिगमनकारीहरुको आक्रमण साथै सम्पूर्ण नेपाली जनताहरुको आधारभुत आवश्यक्ताको संश्लेषण, नेपालको भौतिक विकासको प्रगतिहरु लगायतका परिवेशहरु समावेश गरी नेकपाको सैद्धान्तिक मान्यता, वर्तमान परिस्थिति र राजनैतिक संकट, षडयन्त्रको रहस्य, राज्यलाई नेकपाको सुझाव, समाधानको बाटो र निष्कर्षको विषय उल्लेख गरिएको उक्त अवधारणा पत्रमा सहभागीहरुले सुझाब पेश गरेका थिए ।