Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘सहिदलाई सम्मान गरौँ : राजनीति नगरौँ’


१५, माघ २०८०
  • 987
    SHARES
  • ‘सहिदलाई सम्मान गरौँ : राजनीति नगरौँ’

    काठमाडौँ । विश्वमा आफ्नो देशका बहुसंख्यक जनताको स्वार्थको अगाडि लामो सङ्घर्ष गर्दा गर्दै उद्देश्य प्राप्तिका लागि आफ्नो जीवन नै उत्सर्ग गर्ने, जीवन आहुति दिने वा मृत्युवरण गर्ने व्यक्तिलाई सम्मान गर्न सहिद घोषणा गर्ने प्रचलन छ । 

    सहिदले देखाएको मार्गमा लागिरहन तथा ती महामानवहरूको बलिदानको गाथा भावी पुस्तालाई जानकारी गराउन सहिद दिवस मनाउने प्रचलन संसारभरि नै चलेको देखिन्छ ।

    मुलुकको स्वतन्त्रता, सार्वभौमिकता र आत्मसम्मानका लागि अनवरत र अथकित सङ्घर्ष गर्ने क्रममा तत्कालीन शासकबाट मृत्युदण्ड पाएकाहरुलाई पनि सम्बन्धित व्यक्तिको योगदानको स्मरण गर्न सहिद घोषणा गर्ने परम्परा चलेको हो ।

    अब नेपालको सन्दर्भतिर लागौं । नेपालमा सहिद घोषणाको इतिहासलाई हेर्दा जहानियाँ राणा शासनका विरुद्धमा लागेको आरोपमा जीवन उत्सर्ग गर्ने सपूतहरूलाई सहिद भन्ने गरिएको देखिन्छ ।

    विसं २००७ को परिवर्तनपश्चात् १९९७ सालको प्रजापरिषद्को काण्डमा मृत्युदण्ड पाएका धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ तथा शुक्रराज शास्त्री गरी चार जनालाई सहिदको घोषणा भयो । 

    यसैगरी २००७ सालको आन्दोलनको क्रममा मृत्यु भएका थिरबम मल्ल र २००८ सालमा दिल्ली सम्झौताको विरुद्धमा भएको आन्दोलनमा विश्व निकेतन स्कुलका १४ वर्षीय छात्र चिनियाकाजी श्रेष्ठलाई गोली लागी मृत्यु भएकामा उनीहरुलाई पनि सहिदको सम्मान दिइयो । 

    विसं २०४६ को आन्दोलन सफल भएपछि राजा महेन्द्रको २०१७ सालको काण्डको विरोधमा प्राणदण्ड पाएका र पञ्चायतको विरोधमा लागेकाको आरोपमा जीवन उत्सर्ग गरेकालाई सहिदको सम्मान दिइयो ।

    यसमा जगतप्रकाशजङ्ग शाह, लालध्वज गुरुङ, दुर्गानन्द झा, तेजबहादुर अमात्य, सरोजप्रसाद कोइराला, भीमदत्त पन्त, रत्नकुमार बान्तवा, वीरेन्द्र राजवंशी, भीमनारायण श्रेष्ठ तथा यज्ञबहादुर बस्नेत आदिलाई सहिदको सम्मान दिइएको थियो । 

    यसैगरी राणाविरोधी आन्दोलनमा मृत्युदण्ड पाएका लखन थापा तथा बाँकी वीरलाई पनि सहिद घोषणा गरियो ।यसैगरी २०४६ को आन्दोलनमा सहादत प्राप्त गर्ने १९ जनालाई सहिदको सम्मान प्रदान गरियो । २०६२/६३ को आन्दोलनपश्चात् सहिद घोषणा र सम्मान कार्यमा निकै ठूलो भेल आएको देखिन्छ ।

    विसं २०६५ पुस ९ गते छ हजार २४४ जना २०६७ असार ९ गते एक हजार ६१९ जना तथा २०७४ माघ ३ गते १९० जना व्यक्तिले सहिदको सम्मान पाए । यसैगरी पुष्पकमल दाहाल प्रधानमन्त्री भएको बेलामा आठ हजार पाँच जनालाई सहिदको सम्मान दिएकामा २००० जनाको त नामथर नै नखुलेको टिप्पणी पनि भयो । 

    यसैगरी माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेलामा चार हजार र मधेश आन्दोलनमा मारिएका ५२ जनालाई सहिद घोषणा गरियो । माओवादी द्वन्द्वको क्रममा मारिएका (सरकारी र विद्रोही दुवै पक्षका) सबैलाई सहिद घोषणा गरियो । 

    प्रत्येक राजनीतिक र अन्य निर्दिष्ट उद्देश्य प्राप्तिका लागि भएको आन्दोलनमा मृत्यु भएकाहरुलाई रु १० लाखसहित सहिद घोषणा गर्ने कार्य बडो उदारतापूर्वक हुँदै गइरहेको छ । यसै क्रममा पछिल्लो पटक कोरिया भाषा परीक्षा लिने विषयमा भएको आन्दोलनमा प्रहरीको गोली लागि मारिएका दुईजनालाई पनि रु १० लाखसहित सरकारले सहिद घोषणा गर्‍यो । 

    नेपालको हालसम्मको सहिदको तथ्याङ्क सङ्कलन गर्न पनि अनुसन्धानकै खाँचो पर्ने देखिन्छ । सातौं शताब्दीमा नेपाल आएका चिनिया यात्री हु यन साङले नेपालमा कृषकभन्दा व्यापारी बढी भएको र उन्नाइसौँ शताब्दीमा नेपाल आएका अङ्ग्रेज दूत कर्क प्याट्रिकले काठमाडौँमा घरभन्दा मन्दिर बढी र मानिसभन्दा मूर्ति बढी भएको टिप्पणी गरेको सन्दर्भमा एक्काइसौँ शताब्दीमा नेपाल सहिदै सहिदको देश भनेर पहिचान नहोला भन्न नसकिने अवस्था छ । 

    नेपाल सरकार सहिदको स्थापित मर्म, मान्यता, आदर्श र सन्देश बुझेर पनि त्यसलाई अवमूल्यन गर्ने कार्यतर्फ अग्रसर भएको छ । राजनैतिक पार्टीमा शिर्ष नेताहरु आफ्ना कार्यकर्तालाई प्रसन्न गराउन र जनताबाट शुभेक्षा प्राप्त गर्न सहिद घोषणा गरी १० लाख रुपैयाँ उपलब्ध गराउन कसरत गरिरहेका छन् । वस्तुनिष्ठ मापदण्डका आधारमा घोषणा गर्नुपर्नेमा समर्थकलाई सहिद घोषणा गर्न नेपाल बन्द, चक्काजाम, अनशन, धर्ना जस्ता संयन्त्र अवलम्बन गरिएको देखिन्छ । 

    दुर्घटनामा परेकालाई समेत सहिद घोषणा गर्ने माग आएका दृष्टान्त पनि देख्न पाइन्छ । सहिदकै फोटो बोकेर मत माग्ने गरेको दृश्य पनि यहाँ देख्न पाइन्छ । सहिद मुलुकका गहना हुन् कुनै पार्टीका पेवा होइनन् भन्ने हेक्का राख्नुपर्ने तथ्यमा ध्यानै गएको देखिँदैन । यस प्रकार सहिद घोषणा गर्दा राजनैतिक आग्रह एवं तुष्टीकरणको नीति लिँदा सहिदको मर्म, मान्यता तथा सन्देशकै खिल्ली उडेको छ ।

    सहिद कसलाई भन्ने हो त ? त्यसतर्फ विचार गरौँ । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली बृहत् शब्दकोशमा सहितको अर्थ आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति भन्ने दिइएको छ । यस अर्थमा नेपालको इतिहासमा विभिन्न महामानवहरूले देशको अस्तित्व, अस्मिता, स्वाभिमान र स्वतन्त्रता प्राप्त गर्ने सङ्घर्षमा ज्यान गुमाएका छन् । 

    राष्ट्रपति बफादार र कर्तव्यनिष्ठ हुँदाहुँदै पनि प्राणदण्ड पाएका थुप्रै घटना छन् । ती सबै श्रद्धेय सपूत सहिद नै हुन् । इतिहासको विभिन्न कालखण्डमा यस्ता पात्र धेरै भए । भोटमा विशेष सुविधा दिलाई कान्तिपुर र कालान्तरमा नेपालकै श्रीवृद्धि गर्ने काजी भीम मल्ल काटिए । 

    यसैगरी गोरखाको सैनिक परिचालनको क्रममा मारिएका जयन्त राना तथा कालु पाण्डे, षड्यन्त्रकारी राजनीतिको चपेटामा परी हत्या गरिएका देशभक्त सर्वजित राना, दामोदर पाण्डे तथा माथवरसिंह थापा जस्ता हस्तीहरूले सहिदको सम्मान पाउने कि नपाउने ?

    राणा शासनकै विरुद्ध लागेका लखन थापा र बाँकावीरलाई सहिद घोषणा गर्दा अमरविक्रम शाह सिजापति काण्डमा परेका तथा सुब्बा कृष्णलाल अधिकारी जस्ता सपूतप्रति अन्याय भएन र ? भन्ने प्रश्न उठेको छ । यसतर्फ ध्यान दिने बेला आएको छ । 

    नेपालका सन्दर्भमा सहिदको वस्तुनिष्ठ मूल्याङ्कन गरी आवश्यक मापदण्ड निर्धारण गर्न गठित प्रश्रित र सुवेदी आयोगले पनि भने जस्तो कार्य गर्न सकेनन् । राजनैतिक तुष्टीकरणको नीति लिँदा सहिदकै मानमर्दन भइरहेको प्रशस्त टिकाटिप्पणी र चर्चापरिचर्चा हुँदा पनि यस विषयमा मुलुकले पर्याप्त ध्यान दिएर भविष्य उन्मुख योजना बनाउन सकेको छैन । 

    नेपालको पहिलो सहिद को हो ? भन्ने विवाद पनि चर्किएको छ । प्रथम सहिद लखन थापा भन्ने गरिएकामा पूर्वप्रधानमन्त्री केपी ओलीले एक कार्यक्रममा बाँकावीर नै पहिलो सहिद भएको उद्घघोष गर्नु भएको थियो ।

    सहिद गेटमा चार सहिद र अग्रभागमा त्रिभुवनको सालिक राखिएको छ । तिनै राजा त्रिभुवनको आदेश (हुन त राणा प्रधानमन्त्री जुद्धशमशेरको अगाडि उनको केही चल्दैनथ्यो ।)बाट ती चारजनाले मृत्युदण्ड पाएको तथ्य पनि बिर्सन हुँदैन । अतः यस विषयमा पनि बेलाबेलामा चर्चा चलेकै छ । हेटौँडामा नगरपालिकाले एउटै ढुङ्गामा १२ सहिदको आकृति कुदाएर राखेको छ । 

    त्यसमा जगतप्रकाशजङ्ग शाह तथा भीमनारायण श्रेष्ठ किन परेनन् भन्ने कुरामा सहिद परिवारकै असन्तुष्टि प्रकट भएको छ । यसैगरी सहिदलाई मरणोपरान्त विभूषण प्रदान गर्दा सहिद भीमनारायणको परिवारले बहिष्कार गरेको घटना पनि ताजै छ । 

    विसं २०६२/६३ को आन्दोलनपश्चात् द्वन्द्वका क्रममा मारिएका असङ्ख्यलाई सहिद घोषणा गराउने घटनाप्रति आपत्ति जनाउँदै सहिद परिवारकै १२ जना सदस्यले सहिदलाई अपमान गरेकामा सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका थिए । जिउँदो सहिद भनेर टङ्कप्रसाद आचार्य र मुकेश कायस्थलाई भन्ने गरिँदा यस्तै खड्गमान सिंह जस्ता किन परेनन् ? भन्ने कौतुहल पनि जागेको छ । सहिद परिवारबाटै आएको सहिदको सम्मान भएन भन्ने आवाजलाई पनि सुन्नै पर्छ कि ?

    सहिदको सम्मान घोषणा गर्दा राजनैतिक आग्रह राखिनु उपयुक्त हुँदैन । आन्दोलनकारीलाई खुसी बनाउन रु १० लाख दिइ सहिद घोषणा गर्ने परिपाटीको अन्त्य हुनुपर्दछ । सहिद मुलुकै गहना हुन्, प्रतिष्ठा हुन् र भविष्यमा सन्ततिका मार्गदर्शक हुन् भन्ने कुरा मनन गर्नै पर्दछ ।

    अब सहिदको अवधारणा र स्थापित मान्यताको आधारमा उचित मापदण्ड निर्धारण गरिनुपर्दछ । नेपालको ऐतिहासिक कालखण्डमा देखिएका मुलुकको उन्नति स्वाभिमान र स्वतन्त्रताको रक्षाका लागि आफ्नो जीवन उत्सर्ग गर्नेहरूको कार्य र योगदानको आधारमा भविष्य उन्मुख योजना बनाउनु जरुरी छ ।

    यस्तो कार्यमा सरकारले तुष्टीकरणको नीतिबाट पृथक् भई कर्मकाण्डी आयोग वा अध्ययन दल बनाउनु किमार्थ हुँदैन । समाजका सम्बद्ध सबै पक्षसँग राय सल्लाह लिने गरी एउटा उच्चस्तरीय आयोग बनाउनु बाञ्छनीय देखिन्छ । यसरी कार्यविधि बनाई उचित ढङ्गले सहिदको वर्गीकरण हुँदा सबैको यथायोग्य सम्मान हुँदो हो ।

    नेपालमा माघ १६ गते सहिद दिवस मनाउने प्रचलन २०१२ सालबाट प्रारम्भ भएको हो । तर, प्रदेश सरकारले भने हाल आआफ्नै अनुकूल सहिद दिवस मनाउँदै आएका छन् । कर्णाली प्रदेशले भदौ ४ गते सहिद दिवस मनाउने गरेको पाइन्छ ।

    सहिद दिवस औपचारिक कार्यक्रम गर्नेमा मात्र सीमित नरहोस् । सहिदको बलिदान स्मरण गर्दै उनीहरूले देखाएको मार्गमा अग्रसर हुनु नै ती महान् आत्माप्रति गरिने सच्चा सम्मान हो । सम्पूर्ण ज्ञातअज्ञात सहिदप्रति हार्दिक श्रद्धाञ्जलि

  • ‘देवदह खोज्दा भेटिएको बुद्धकाल’ : इतिहास, पुरातत्व र स्मृतिको यात्रामा डा. कृष्णप्रसाद न्यौपाने

    बुद्धकालीन देवदहको इतिहास, मंगलपुष्करिणीको खोज, रोहिणी नदी, पुरातात्त्विक सम्पदा, पर्यटन सम्भावना र अनुसन्धान यात्राबारे डा.कृष्णप्रसाद

  • कांग्रेसको एकता बिना लोकतन्त्र बलियो हुन सक्दैन : गगन थापाको नेतृत्व र देउवाको अभिभावकत्व

    नेपाली कांग्रेस यतिबेला एउटा राजनीतिक दलभित्रको सामान्य आन्तरिक विवादको अवस्थामा मात्र छैन। पार्टीभित्र विकसित पछिल्ला

  • जेन्जी आन्दोलनको एक वर्ष : सरकार ढल्यो, राज्य बदलियो त?

    ७६ सहिदको बलिदानपछि पनि उही प्रश्न-सरकार परिवर्तन भयो, तर शासनशैली र राज्य संयन्त्र कति बदलियो? गोविन्द

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend