अर्घाखाँची । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले वर्तमान सरकारको कामप्रति नेपाली काङग्रेस सन्तुष्ट नरहेको बताउनुभएको छ ।
सरकार गठन भएको एक बर्ष बितीसक्दा समेत जनस्तरमा सरकार प्रतिको बिश्वास जाग्न नसकेकोले कामको स्पिड बढाउनुपर्नेमा जोड दिनुभयो ।
नागरिकले राहत महसुस गर्नेगरी कार्यसम्पादन हुन नसकेकोले सरकारको कामको अपजसको भारी काङग्रेसले बोक्न नसक्ने स्पस्ट पार्नुभयो ।
नेपाल प्रेस युनियन अर्घाखाँची शाखाले सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य डा. संग्रौलाले गठबन्धन इमान्दारीपूर्वक अगाडि नबढे लोकतान्त्रिक व्यवस्था खतरामा पर्ने भएकाले गठबन्धन जुन उद्देश्य र भावनाले अगाडि बढेको छ, त्यही अनुरुप व्यवहारमा कार्यान्वयन गर्नसमेत गठबन्धन दलहरुलाई आग्रह गर्नुभयो
‘समुदायमा कांग्रेस’ अभियानको शिलशिलामा अर्घाखाँची आउनुभएकी डा. संग्रौलाले देशको राजनीतिक अवस्थालाई सही मार्गमा ल्याउन कांग्रेसको विकल्प नभएको बताउँदै जनतामाझ भएका गुनासो सम्बोधन गर्न पार्टिले अभियान चलाएको बताउनुभयो ।
संग्रौलाले पार्टीलाई बलियो बनाउनका लागि अभियान प्रभावकारी रहने बताउँदै अब गुट उपगुट भन्दापनि एक ढिक्का भएर अगाडि नबढे पार्टी कमजोर बन्ने ठोकुवा गर्नुभयो ।