काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्प्सनले शिष्टाचार भेट गर्नुभएको छ । सोही क्रममा राजदूतले बालेनलाई अमेरिका भ्रमणको निम्तो दिनुभएको छ ।
भेटका क्रममा प्रमुख शाहले आपसी कार्यक्रमका रुपमा आइटी (सूचना प्रविधि) को तालिम चलाउन सकिने धारणा राख्नुभएको थियो । उहाँले भन्नुभयो’ ‘यसबाट अमेरिकन कम्पनीले कामका लागि जनशक्ति पाउँछन् नेपाली युवाहरुले आय आर्जन गर्न पाउँछन्।
यससँगै उनीहरु विश्वबजारका लागि दक्ष जनशक्ति बन्न सक्ने बालेनको धारणा थियो । प्रमुख शाहले युनेस्को रचनात्मक सहर सञ्जालअन्तर्गत चलचित्र विधामा जोडिएर काठमाडौँले काम गरिरहेको समेत जानकारी दिनुभएको थियो ।
यसमा हलिउडका चलचित्र निर्माता, निर्देशक, कलाकार, वितरकसँग आपसी कार्यक्रम तय गर्न दूतबासले सहजीकरण गरिदिनेछ भन्ने अपेक्षा गरेको उहाँले बताउनुभयो ।
भेटका क्रममा राजदूत थम्प्सनले भन्नुभयो, ‘हामी यहाँका सिर्जनात्मक कार्यक्रमहरुमा सहभागी हुन तथा यस्ता कार्यक्रममा अमेरिकाकातर्फबाट विज्ञ, व्यापारिक, सामाजिक तथा नागरिक तहको सम्बन्ध बढाउन सहजीकरण गर्न सकारात्मक छौँ ।’