काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले सहकारी ठगको आरोपमा लागिरहँदा आफू सहकारी र लघुवित्त समास्या समाधानको नितिगत उपाय र योजनाको प्रतिवेदन तयार गर्न ब्यस्त भएको बताउनुभएको छ ।
आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले आफूमाथि लागेको आरोपमाथि ध्यान दिनुभन्दा पनि त्यसको समाधानको उपायमा आफू लागिपरेको बताउनुभएको हो ।
‘चर्चा, परिचर्चा, आरोप, प्रत्यारोपमा सबै व्यस्त रहँदा सहकारी र लघुवित्त समास्या समाधानको नितिगत उपाय र योजनाको प्रतिवेदनमा व्यस्त रह्यौं ।
आफूलाई लागेको आरोपमा ध्यान दिनुभन्दा त्यसको समाधानको उपायमा हामी लाग्यौं,’– उहाँले भन्नुभयो । सरकार आफूहरुको सहयोग चाहन्छ भने सहकारी प्रकरणमा आफूहरु सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो ।
आवाज, आरोप–प्रत्यारोप, फुस्रा भाषण र नारामात्रै नभएर आफूहरुले योजनासहितको प्रतिवेदन तयार गरेको उहाँले बताउनुभयो ।आज सदनमा प्रधानमन्त्रीलाई हस्तान्तरण गर्ने योजनासहित आएको भएपनि प्रचण्ड उपस्थित नभएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो ।