काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकासको मूल आधार भ्रष्टाचारमुक्त समाज र सुशासन नै भएको बताउनुभएको छ ।
मिनकुमारी राणा प्रतिष्ठानले राष्ट्रपति भवन शीतल निवासमा बिहिबार आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले दीगो शान्ति, विकास र सुशासनबाट नै गरिब, सीमान्तकृत, पिछडिएको क्षेत्र तथा वर्गका जनताको मुहारमा खुसी ल्याउन सकिने बताउनुभयो ।
उहाँले राजनीतिलाई समाजसेवाको बाटोमा केन्द्रित गराउनु आजको आवश्यकता भएको जिकिर गर्नुभयो । हिजोका दिनमा राजनीति मूख्य विषय भएको तर अबका दिनहरुमा जनता र समाजको सेवा नै सवैको लक्ष्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।प्रतिष्ठानले समाजका उपेक्षित वर्ग र क्षेत्रको हित र उत्थानका लागि आगामी दिनमा विशेष कार्यक्रम ल्याएर काम गर्ने उहाँको विश्वास छ ।
कार्यक्रममा राष्ट्रपति पौडेलले मिनकुमारी प्रजातन्त्र सेनानी सम्मान लोकतन्त्रवादी नेता लेखनाथ न्यौपाने, राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाल र राष्ट्रिय खेलकुद पुरस्कार प्रकाश थापा मगरलाई प्रदान गर्नुभयो । पुरस्कारको राशी जनही ५१ हजार १ रुपैयाँ रहेको छ ।