काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धका महान उपलब्धिहरुलाई अपमानित गर्ने छुट कसैलाई पनि नरहेको बताउनुभएको छ ।
आज (मंगलबार) २९औं जनयुद्ध दिवसका अवसरमा पार्टीको विधान अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले अहिले जनयुद्धका उपलब्धिलाई कमजोर बनाउन प्रतिक्रान्ति र प्रतिक्रियावादीहरु सलबलाइ रहेको बताउनुभयो ।
उहाँले प्रतिक्रान्ति र प्रतिक्रियावादीहरु विरुद्ध एक भएर प्रतिवाद गर्न पनि नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । ‘महान उपलब्धिलाई अपमानित गर्ने छुट कसैलाई पनि छैन ।
तर, त्यो दुष्शाहस भएको हामीले देखिराखेका छौं । त्यसकारण हामीले एउटा नयाँ संकल्प लिनुछ अहिले । त्यो दुष्शाहस गर्नेका विरुद्ध हामीले जबरजस्त प्रतिवाद गर्नुछ । तिनीहरुलाई त्यो छुट छैन,’– उहाँले भन्नुभयो ।
विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँतिर लक्षित गर्दै उहाँले आफूहरुले राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको हलमा बसेर जनयुद्ध दिवस मनाइरहँदा बाहिर हिजोका राजा, महाराजा र तिनका भरौटेहरुले संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध दुस्साहसपूर्ण ढंगको गतिविधि गर्ने जमर्को गरिरहेको बताउनुभयो ।
उहाँले माओवादी केन्द्रका देशभरीका नेता, कार्यकर्ता, योद्धाहरु र आम जनसमुदायलाई प्रतिक्रियावादी र प्रतिक्रान्तिका विरुद्धमा एक हुन आग्रह गर्नुभयो ।
उहाँले जनयुद्ध ऐतिहासिक, दूरगामी किर्तिमान भएको दाबी गर्दैै महान र ऐतिहासिक परिवर्तनको पक्षमा एकचोटी फेरि जाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो । जनयुद्धमा सहभागी नभएको कुनै जाति र समुदाय नभएको उहाँको दाबी छ । सबै जाति, समुदाय र उत्पीडित वर्गको सहभागिताले नै जनयुद्ध महान बन्न पुगेको उहाँले बताउनुभयो ।
‘यसलाई अपमानित गर्न खोज्ने, ती महिला, दलित जसले जनयुद्धमा अभूतपूर्व र ऐतिहासिक कीर्तिमानी कायम गरे, रेकर्डहरु बनाए र अहिले समानुपातिक समावेशिताको एउटा चरणको अभ्यास गर्दैछन् । ती दलित महिलाहरु, मधेशी, जनजाति र आदिवासीका विभिन्न समुदायहरु जसको सबैभन्दा धेरै बलिदान भएको छ ।
यो जनयुद्धमा सहिद नभएको कुनै जाति, समुदाय छैन । यो यसको विशिष्टता, मौलिकता र महानता हो । देशका सबै वर्ग, उत्पीडित जाति, क्षेत्र, समुदाय, सबैले एकसाथ यसमा योगदान गरेका छन् । र जनयुद्ध महान बन्न पु्गेको हो,’– उहाँले भन्नुभयो ।
जनयुद्धका उपलब्धिहरुलाई अपमानित गर्नेहरुका विरुद्ध जबरजस्त प्रतिवाद गर्न पनि उहाँले नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुृभयो । प्रधानमन्त्री प्रचण्डले सचेत रुपले सामाजिक रुपान्तरण र क्रान्तिका निम्ति बलिदान गर्ने योद्धाहरुलाई अपमानित गर्ने तिनीहरुलाई कुनै अधिकार नरहेको बताउनुभयो ।
प्रतिक्रान्ति र प्रतिक्रियावादी शक्तिहरुका विरुद्ध हिजोका माओवादी शक्तिहरु एक हुन आवश्यक रहेको उहाँले बताउनुभयो । माओवादी शक्तिहरु एक भएको खण्डमा क्रान्तिकारी परिवर्तनलाई अपमानित गर्नेका विरुद्धमा सहजै प्रतिवाद गर्न सकिने उहाँले बताउनुभयो ।
‘हामी एक भएर जाँदा त्यसलाई रोक्न सकिन्छ । हिजो पनि हामीलाई सखाप पार्न खोजेकै हुन् । हामी सखाप भएनौं । हामीलाई अहिले जसरी आरोपित गर्ने र नयाँ भाष्य निर्माण गर्न खोजिएको छ, क्रान्तिलाई र क्रान्तिकारी परिवर्तनलाई अपमानित गर्न, त्यसको प्रतिवाद हामीले गर्नै पर्छ,’– उहाँले भन्नुभयो ।