काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मिथ्या र गलत सूचनाबाट ‘दिग्भ्रमित’ पार्ने काम पनि भइरहेका सन्दर्भमा राष्ट्रिय समाचार समिति (रासस) जस्तो जिम्मेवार सञ्चार माध्यमले सत्य, तथ्य, निष्पक्ष र आधिकारिक सूचना प्रवाह गरेर जनतालाई सुसूचित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
राससको ६३ औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै यसको दुरुप्रयोगबाट बच्नु ठूलो चुनौती भएकाले यस चुनौतीलाई राससजस्ता सञ्चारमाध्यमले सामना गरेर अघि बढ्नुपर्ने बताउनुभएको हो ।
“पत्रकारिताको सिद्धान्त, आचारसंहिता र मूल्यमान्यतामा आधारित मौलिक, खोजमूलक र अनुसन्धानमूलक लेखनले नै समाचारको सार र प्राणलाई बचाउँदै पाठकको चाहनालाई पूरा गर्छ भन्ने लाग्दछ”, राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ । राससले सेवाको विविधीकरण, प्रकाशन, तालिम तथा पूर्वाधार विकासमा गरेको सुधार प्रशंसनीय छ ।
राससले आधुनिकीकरण र भूमण्डलीकरणको बदलिँदो परिवेशमा आफ्ना पाठक र सेवाग्राहीको चाहनाअनुरूपका गुणस्तरीय, सत्य तथ्य, आधिकारिक र विश्वसनीय समाचार सामग्री छिटोछरितो रूपमा दिन अझै प्रतिस्पर्धी, सक्षम र नेतृत्वदायी सञ्चारमाध्यमका रूपमा अघि बढ्ने राष्ट्रपतिले विश्वास ब्यक्त गर्नुभएको छ ।
उहाँले इन्टरनेट र सूचना प्रविधिको तीव्र विकासले समाचारको विषयवस्तु, सञ्चारमाध्यम र सूचना सम्प्रेषणमा व्यापक परिवर्तनसँगै छिटोछरितो रूपमा दर्शक, श्रोता र पाठकको सत्य तथ्य सूचना पाउने चाहनालाई पूरा गर्न कठिन बन्दै गएको परिप्रेक्ष्यमा राज्यद्वारा सञ्चालित राससजस्तो समाचार समितिले संविधानले प्रत्याभूत गरेको आम नागरिकको सूचनाको हक पाउने प्रावधानलाई पूरा गर्न अझै जिम्मेवार, विश्वसनीय र जबाफदेही बन्नुपर्ने बताउनुभयो ।
अभिव्यक्ति स्वतन्त्रता मात्र होइन स्वतन्त्र, निष्पक्ष र स्वतन्त्र पत्रकारिता तथा हरेक नागरिकको सूचनाको अधिकार बहुलवादमा आधारित लोकतन्त्रमा मात्र सम्भव हुने भएकाले सबैको अधिकार संरक्षण गर्ने बहुलवादमा आधारित लोकतन्त्रको सुदृढीकरण आफ्नो धर्म मानेर काम गर्दा नै संस्थाले राखेका खास लक्ष्य पूरा हुने पनि राष्ट्रपतिले स्पष्ट पार्नुभएको छ ।