काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको मुख्य एजेण्डा संविधानको रक्षा र सार्थक कार्यान्वयन गर्नु रहेको बताउनुभएको छ ।
आज (सोमबार) बाट सुरु भएको पार्टीको महासमिति बैठकलाई सम्बोधन गर्दै उहाँले वर्तमान संविधान कांग्रेसको नेतृत्वमा बनेको र अहिलेको शासकीय स्वरुप आफूहरुको मान्यता अनुरुप रहेको बताउनुभएको छ ।
‘नेपालको वर्तमान संविधान नेपाली कांग्रेसको नेतृत्वमा निर्माण भएको हो । संविधानले बहुलवादमा आधारित, बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली सुनिश्चित गरेको छ ।
यो शासकीय स्वरुप नेपाली कांग्रेसको मान्यता अनुरुप छ । संविधानको रक्षा र सार्थक कार्यान्वयन आजका मुख्य एजेण्डा हुन्,’– उहाँले भन्नुभयो।
सभापति देउवाले कांग्रेस संविधानको सुरक्षा र कार्यान्वयनको पक्षमा दृढ रहेको बताउनुभयो। संविधानको उचित कार्यान्वयनले दीगो शान्ति, सुशासन, विकास र समृद्धि ल्याउन सकिन्छ भन्ने विषयमा कांग्रेस स्पष्ट रहेको उहाँले बताउनुभयो।
संविधान गतिशील दस्तावेज भएको दाबी गर्दै उहाँले संविधानलाई गतिशील र सर्वस्वीकार्य बनाउन आवश्यक रहेको बताउनुभयो।
‘संविधानलाई जनताको आशा, भरोसा र मर्यादाको विषय बन्नुपर्छ । संविधान जारी भएको आठ वर्ष भइसकेको छ । संविधान कार्यान्वयनको मूल्याङ्कन गर्ने, कार्यान्वयनका क्रममा देखा परेका समस्या, जटिलता र अस्पष्टतासमेतको पहिचान गर्ने समय भएको छ,’– उहाँले भन्नुभयो।