काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रधानमन्त्रीले दोषी मन्त्रीहरुलाई संरक्षण गर्न नहुने बताउनुभएको छ ।
आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाल बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उहाँले केही गर्छु भनेर लागेको प्रधानमन्त्रीले दोषी मन्त्रीलाई संरक्षण गरेर बदनाम हुन नहुने बताउनुभएको हो ।
‘प्रधानमन्त्री एकचोटी केही नयाँ काम गरौं भन्ने प्रोसेसमा हुनुहुन्छ । संसदीय राजनीतिमा प्रधानमन्त्रीलाई आफ्नो क्याविनेट आफ्नो अनुकूल बनाउने पूर्ण अधिकार छ ।
उहाँ पनि बदनाम र गनाएर बस्न चाहनुहुन्न होला जस्तो मलाई लाग्छ । सरकारले देश र जनतालाई नै असर पर्ने काम गर्नेहरुलाई संरक्षण गरेर प्रधानमन्त्री बस्नुहुन्न भन्ने हामीले विश्वास लिएका छौं,’– उहाँले भन्नुभयो ।
यो विषयलाई लिएर गठबन्धनलाई कुनै असर नपर्ने उहाँको भनाइ छ । जनताको अपेक्षाअनुसार काम भएन भने प्रधानमन्त्रीले यस्ता कुरामा विचार गर्नुपर्ने छ ।
कांग्रेसले कसैलाई हटाउ र राख नभनेको उहाँको भनाइ छ । मन्त्री हटाउने र राख्ने कुरा प्रधानमन्त्रीको स्वविवेकीय अधिकार रहेको उहाँले बताउनुभयो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री सुदन किराती र उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले संसद् अवरोध गरिरहेका छन् ।