काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस र माओवादीसहितको गठबन्धन आफूहरुले भत्काएको दाबी गर्नुभएको छ ।
मंगलबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले कांग्रेस र माओवादीसहितको गठबन्धन चीनले भत्काएको भन्ने आरोपलाई खण्डण गर्दै उक्त गठबन्धन एमालेले भत्काएको दाबी गर्नुभएको हो ।
‘यो परिवर्तन हामीले गरेको, गराएको हो । कमसेकम यती जस त हामीलाई दिनुस् । कहाँ चीन पुर्याएको यति सानो काममा पनि ? चीनले बनाइदियो अरे, चीन आयो अरे, चीन घुस्यो अरे । यस्तो खाल्को कुरा चाहीँ नगरे हुन्थ्यो । त्यती जस त हामीलाई दिनुस् । यत्रो मेहनत गरेर बनाइएको छ । यति काम त हामीले गरेको भन्दा हुन्छ नि । हामीले गरेको हो,’– उहाँले भन्नुभयो ।
अहिलेको सरकारले जनतामा आशा जगाउने कोशिस गरिरहेको छ । सत्ता गठबन्धन महान उदेश्यको साथ अगाडि बढिरहेको छ । एमाले सरकारको अन्ध समर्थन गर्ने पार्टी नभएको उहाँले बताउनुभयो। हिजो प्रमुख प्रतिपक्षीमा रहँदा पनि एमालेले सरकारको अन्ध विरोध नगरेको उहाँको दाबी छ ।
एमालेलाई सरकारमा जाने हतारोले भन्दा पनि देशको बर्वादी टुलुटुलु हेरेर बस्न नसक्दा गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउन परेको उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले अघिल्लो गठबन्धनमा हुनेहरुको उन्माद सकिएको बताउनुभयो । उहाँले अघिल्लो गठबन्धनलाई आफूले खरानीको डल्लोको संज्ञा दिएको स्मरण गराउँदै सो गठबन्धन खरानीको डल्लो नै प्रमाणित भएको बताउनुभयो ।
साथै, उहाँले पार्टीको तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई जनताले देख्नेगरी र परिणाम देखिने गरी काम गर्न निर्देशन दिनुभयो। कुनै अबगाल आउने काम नगर्न उहाँले सरकारमा सहभागी भएका मन्त्रीहरुलाई सचेत गराउनुभयो ।
मन्त्रीहरुलाई अपारदर्शी र भ्रष्टाचारका कुनै पनि क्रियाकलापमा सहभागी नहुन उहाँले निर्देशन दिनुभयो । साथै, सरकारमा भएका कसैले भ्रष्टाचार र अपारदर्शी क्रियाकलाप गरेको खण्डमा हेरेर नबस्नेसमेत बताउनुभयो ।