काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सामाजिक सुरक्षा कोषका लाभबारे जनतालाई बुझाउन व्यापक प्रचार प्रसार आवश्यक रहेको बताउनुभएको छ । यसमा काम गर्न उहाँले कोषलाई निर्देशन समेत दिनुभएको छ ।
कोषलाई दीर्घकालीन योजना बनाएर अगाडि बढ्न समेत उहाँले निर्देशन दिनुभयो । शुक्रबार सामाजिक सुरक्षा कोषको काम कारबाहीका विषयमा जानकारी लिँदै उहाँले यस्तो निर्देशन दिनुभयो ।
कोषका कर्मचारीसँग छलफल गर्दै मन्त्री अर्यालले कम्तीमा पनि एक वर्षको कार्य योजना बनाएर काम गर्न सुझाव दिनुभयो ।
‘योजनाको अवधि सकिएपछि कति उपलब्धि भयो त्यसको मूल्यांकन गरौँ,’ उहाँले भन्नुभयो । कोषको योजना अनुसारको लक्ष्य प्राप्तिका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको समेत उहाँले बताउनुभयो ।
‘कामका गर्न तपाईंहरुलाई कस्ता खालका स्रोत, साधन र विज्ञता चाहिन्छ भन्नुस् । मन्त्रालयले उपलब्ध गराउँछ ।तर, योजना बनाएर परिणाम आउने गरी काम गर्नुहोस्,’ उहाँले भन्नुभयो ।
मन्त्री अर्यालले सामाजिक सुरक्षा कोषको विषयमा व्यापक प्रचार प्रसार गर्न निर्देशन दिनुभएको हो । कोषमा आबद्ध भएपछि प्राप्त हुने लाभका विषयमा लक्षित वर्ग अनविज्ञ रहेको भन्दै उहाँले सचेतना जगाउनुपर्ने बताउनुभयो ।