काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रास्वपाको मिसन भ्रष्टाचार अन्त्य गर्नु रहेको बताउनुभएको छ ।
आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अर्यालले रास्वपाको मिसन बेथितिविरुद्धमा काम गर्ने रहेको बताउनुभयो ।
उहाँले रास्वपाको मिसन सुशासन कायम गर्नु पनि रहेको बताउनुभयो। भ्रष्टाचार अन्त्य, बेथितिविरुद्धको काम र सुशासन कायम भएसँगै देश समृद्ध बन्ने उहाँको भनाइ छ।
‘रास्वपाको मिसन बेथितिविरुद्धमा काम गर्ने । साथै भ्रष्टाचार कसरी अन्त्य गर्न सकिन्छ भन्ने नै हो । त्यसकारण सुशासन कायम र भ्रष्टाचारको अन्त्य गर्नुपर्छ । हाम्रो योभन्दा बढी मिसन खासै छैन ।
त्यति गर्ने बित्तिकै यो देश समृद्ध हुन्छ । समुन्नत हुन्छ, जनताले राहत पाउँछन्, जनताले राज्य र सरकार भएको महसुस गर्दछन्,’ उहाँले भन्नुभयो । जनताले राज्य र सरकार भएको महसुस गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाइएको उहाँको भनाई छ ।