काठमाडौं । संसदीय दलको बैठकले प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेलगत्तै नेकपा माओवादी केन्द्रका ३ मन्त्रीले राजीनामा दिएका छन् । सोमबार मुख्यमन्त्री केदार कार्कीसमक्ष उनीहरुले पदबाट राजीनामा दिएका हुन् ।
कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकारमा माओवादीबाट खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार राई र पर्यटन, वन तथा वातावरण गणेश उप्रेती रहेका छन् ।
सोमबार बसेको माओवादी कोशी प्रदेश संसदीय दलको बैठकले आजै पार्टीका मन्त्रीहरूले राजीनामा दिने निर्णय गरेको थियो ।
माओवादीले सरकार छाडेसँगै अर्को प्रमुख दल नेकपा एमालेले पनि समर्थन फिर्त लिँदैछ । एमालेले समर्थन फिर्ता लिएर दुई दलले नयाँ सरकार गठन प्रक्रियाको तयारीमा जुटेका छन् ।
कोशी प्रदेशमा एमालेले सरकारको नेतृत्व गर्ने सहमति भए पनि मुख्यमन्त्री केदार कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्त भएका थिए । कांग्रेसका सांसद उनले प्रदेश सदस्यको हैसियतले बहुमतसिद्ध गरी मुख्यमन्त्री दाबी गरेका थिए ।
एमालेको सहयोगमा मुख्यमन्त्री भएका उनलाई पछि माओवादीले समर्थन गरेपछि विश्वासको मत लिएका थिए । कांग्रेसका कार्कीले सरकार निर्माणका लागि अन्तिम धारा १६८ (५) प्रयोग भएकाले मध्यावधिको चेतावनी दिए पनि संविधानविद्ले बहुमतसिद्ध गर्न सक्ने दलले मुख्यमन्त्री दाबी गर्न सक्ने बताउँदै आएका छन् ।
सांसदहरूको हस्ताक्षर संकलन गरी समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखलाई बुझाएर सरकार ढाल्ने र नयाँ गठबन्धनको सरकार गठन गर्ने एमाले–माओवादीको तयारी छ । तर, मुख्यमन्त्री कार्कीले भने संवैधानिक व्यवस्था अनुसार आफू नेतृत्वको सरकार ढाल्ने नसक्ने जिकिर गर्दै आएका छन् ।