Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आगलागी न्यूनीकरणका लागि संस्थागत संरचना र दक्ष जनशक्ति आवश्यक


१३, वैशाख २०८१
  • 239
    SHARES
  • आगलागी न्यूनीकरणका लागि संस्थागत संरचना र दक्ष जनशक्ति आवश्यक

    काठमाडौँ । गर्मीयाम सुरु भएसँगै डढेलोसहित आगलागीसहितका घटना बढेका छन् । वैशाख महिनाको १२ दिनको तथ्याङ्क हेर्ने हो भने आगलागीका ४७९ वटा घटना भएका छन् ।

    आगलागीमा परेर आठ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । करिब १९ करोड रुपैयाँको क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् पोर्टलले बुधबार दिउँसो १२ बजेसम्मको उपलब्ध गराएको तथ्याङ्क अनुसार २९७ वटा पूर्वाधार संरचनामा क्षति पुगेको छ । आगलागीमा परेर २८४ पशुचौपायाँ मरेका छन् ।

    डढेलोका कारण वन र पर्यावरणको विनाशसँगै जनधनको ठूलो क्षति भएको छ । अर्कोतर्फ वायु प्रदूषण पनि बढिरहेको छ । यसको असर मानव स्वास्थ्यमा पनि परेको छ । एकै दिन चार सय २० स्थानमा डढेलो लागेको अवस्था पनि छ । विगतको तथ्याङ्क हेर्दा त्यो दिन यो वर्ष पनि आउन सक्छ । चेतनाको कमीका कारण आगलागीका घटना बढी हुने गरेका छन् ।

    आगलागी र डढेलोको प्रकोप नियन्त्रणको एकल अधिकार स्थानीय सरकारसँग भए पनि कुन हदसम्मको विपद् स्थानीय तहको जिम्मा हो भन्ने स्पष्ट छैन । विपद् नियन्त्रणमा लिन सक्ने दक्ष जनशक्ति, उपकरण र स्रोतसाधन पनि छन् । डढेलो नियन्त्रण किन जटिल बन्दै छ ? डढेलोको दीर्घकालीन असर र नियन्त्रण तथा न्यूनीकरणलगायतका विषयमा डढेलोविद् सुन्दर शर्मासँग गरिएको कुराकानीको सम्पादित अंश ।

    किन जटिल बन्दै छ डढेलो नियन्त्रण ?

    चैत वैशाख भनेको हावाहुरी चल्ने र आगलागी हुने समय हो । प्रत्येक वर्ष यो समयमा धेरै आगलागी हुन्छ । खास गरी वैशाख दोस्रो साता डढेलोलगायत आगलागीका घटना धेरै हुन्छन् । डढेलो नियन्त्रण जटिल बन्नुमा विगत दुई वर्ष आगलागी कम भएको थियो । जसले वन जङ्गलमा जलनशील पदार्थ थुप्रिएर बसे । 

    जसले लामो समयसम्म डढेलो नियन्त्रणमा लिन कठिन बनाउँछ । अर्को यो वर्ष हिउँदमा धेरै पानी परेन र तापक्रम पनि बढ्दो क्रममा छ । तापक्रम बढेका कारण पनि डढेलो धेरै लाग्छ । जलवायु परिवर्तनको असरले पनि डढेलो बढेको जस्तो देखिन्छ ।

    प्रतिकार्यको लागि स्रोत, साधन र दक्ष जनशक्तिको अभाव छ । यो अभावका कारण पनि डढेलो नियन्त्रणमा समस्या भएको छ । डढेलो जोखिम न्यूनीकरण र व्यवस्थापन चुनौती पूर्ण बन्दै गइरहेको छ ।

    नेपालमा कुन कुन कारणले डढेलो लाग्ने गरेको छ ?

    नेपालको सन्दर्भमा मानवीय कारणले नै डढेलो लाग्ने गरेको छ । चट्याङ, ज्वालामुखी जस्ता प्राकृतिक कारणले पनि डढेलो लाग्छ । तर, नेपालमा प्राकृतिक भन्दा पनि मानवीय कारणले डढेलो लाग्ने गरेको छ । कहिलेकाहीँ चट्याङका कारण रुख जलेको देखिन्छ । 

    तर, विकराल रूप लिएको पाइँदैन । नेपालमा चट्याङसँगै पानी पनि पर्ने हुनाले आगलागी भइ हाल्यो भने केही समयपछि पर्ने पानीले निभाएको पाइन्छ । विदेशमा २५ प्रतिशत डढेलो चट्याङका कारण लाग्ने गर्छ, तर नेपालमा त्यस्तो छैन ।

    प्राकृतिक कारणले लाग्ने डढेलो रोक्न सकिँदैन, मानवीय कारणले लाग्ने डढेलोलाई न्यूनीकरण गर्न सकिन्छ होइन ?

    मानवीय कारणलाई न्यूनीकरण गर्न सकिन्छ । जनचेतनामूलक कार्यक्रम गरेर, दण्ड जरिवानालाई कडाइ गरेर पनि न्यूनीकरण गर्न सकिन्छ । किन कि मानवीय स्वभावलाई परिवर्तन गर्न सकिन्छ । नेपालमा चेतनाको अभावका कारण मानिसले जङ्गलमा डढेलो लगाएको पाइन्छ ।

    डढेलोबाट हुने क्षतिको तथ्याङ्क कस्तो छ ?

    डढेलोबाट हुने क्षतिको तथ्याङ्क सिस्टमेटिक रूपमा राखेको पाइँदैन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तथ्याङ्क राख्ने गरेको छ । तर, प्राधिकरणमा पनि प्रहरीमा रिपोर्ट भएमा मात्र घटनाहरूको तथ्याङ्क रहन्छ । कतिपय डढेलो तथा आगलागीका घटना र क्षतिको विवरण प्रहरीमा रिपोर्ट नै हुँदैनन् । तथ्य तथ्याङ्कलाई व्यवस्थित गर्नुपर्ने छ । तथ्य तथ्याङ्कलाई व्यवस्थित गर्न सकियो भने आगामी योजना बनाउन र निर्णय गर्न सहज हुन्छ ।

    संस्थागत संरचना र आवश्यक जनशक्ति छैन । जसका कारण देशभरको डढेलोको तथ्याङ्क सङ्कलनमा एकरूपता छैन । तर, प्राधिकरण, वन मन्त्रालय, राष्ट्रिय निकुञ्जले डढेलो हेर्ने गरेका छन् । छुट्टाछुट्टै निकायबाट भन्दा पनि एउटै निकायले हेर्ने गरी संस्थागत व्यवस्था हुनु पर्छ । जसले डढेलो विपद्का लागि काम गर्न सकोस् ।

    डढेलोको दीर्घकालीन असर कस्तो हुन्छ ?

    दीर्घकालीन असर डर लाग्दो छ । डढेलोले माटोको गुणस्तर बिगारी दिन्छ । जैविक विविधतामा ह्रास हुन्छ, जैविक विविधता बढ्ने सम्भावना हुँदैन । अष्ट्रेलियामा लागेको डढेलोले कतिपय वन्यजन्तुका प्रजाति नै लोप भए भन्ने छ । नेपालकै रसुवामा पनि डढेलो लागेको स्थानमा ठुला रुख खिङ्ग्रीङ छ, बिरुवा पनि उम्रन सकेको छैन ।

    डढेलोका कारण बहुमूल्य जडीबुटी र वन्यजन्तु लोप हुन सक्छन् । डढेलोले वायु प्रदूषण बढाएको छ । वायु प्रदूषण बढ्दा मानव स्वास्थ्यमा असर पर्छ । डढेलोबाट निस्कने कार्बनले जलवायु परिवर्तनमा असर गरेको छ भने जलवायु परिवर्तनका कारण डढेलो बढेको छ । यो चिन्ताको विषय हो ।

    डढेलो नियन्त्रणका लागि आवश्यक स्रोत, साधन र जनशक्ति कस्तो छ ?

    डढेलो व्यवस्थापनका लागि हामीसँग स्रोत, साधन र प्राविधिक जनशक्ति छैन भन्दा हुन्छ । डढेलो नियन्त्रणमा नेपाली सेना र प्रहरी खटिने गरेको पाइन्छ । तर, सुरक्षा निकायमा पनि तालिम प्राप्त प्राविधिक जनशक्ति पर्याप्त छैन ।

    किन कि डढेलोमा परेर सुरक्षाकर्मीको मृत्यु भएको घटना पनि छन् । तालिम प्राप्त भएको भए यो अवस्था आउँदैनथ्यो । आगो कताबाट कसरी बढेको छ, डढेलो नियन्त्रण गर्दा के गर्नु पर्छ भन्ने तालिम आवश्यक पर्छ ।

    डढेलो लागेको बेला कस्तो खालको सावधानी अपनाउनु पर्छ ?

    अहिले बसाइसराइका कारण जङ्गल र बस्ती जोडिएको अवस्थामा पुगेको छ । मान्छेहरूले गाउँ छोड्ने क्रम बढेकाले खेतीपाती गर्ने बारी-पाखाहरू खर, बुट्यान लगायतका जलनशील पदार्थले भरिएका छन् । यसले डढेलोको जोखिम बढेको छ । गाउँघरमा युवा छैनन्, वृद्ध वृद्धा मात्र छन्, यसले भोलिका दिन झन् चुनौती पूर्ण छन् ।

    वनजंगल र बस्तीको बिचमा सुरक्षा घेरा बनाउनु पर्छ । पातपतिङ्गर जस्ता जल्ने वस्तुलाई हटाउनु पर्‍यो । कम्तिमा करिब १० देखि १५ मिटर खाली गर्नु पर्छ । भौगोलिक अवस्था, बस्तीमा घरहरूको अवस्था हेरेर मिल्नेसम्म खाली गर्दा राम्रो हुन्छ ।

    आगो निभाउन भाग दौड गर्न सक्ने व्यक्ति जाँदा राम्रो हुन्छ । उपयुक्त औजार र सुरक्षा प्रबन्ध गरेर जानु पर्छ । हतार छ भन्दैमा खाली खुट्टा वा चप्पल गलाएर आगो निभाउन गयौँ भने उल्टै आफै घाइते हुने अवस्था हुन्छ । त्यसी गयो भने आत्महत्या गर्न गए बराबर नै हो । सर्वप्रथम मान्छेको सुरक्षालाई ध्यान दिनु पर्छ । त्यसपछि घर, गोठ र अन्त्यमा वनजंगल बचाउने गरी प्राथमिकतामा राख्नु पर्छ ।

    अन्त्यमा तपाईँको सुझाव के छ ?

    फागुन, चैत, वैशाख बढी डढेलो हुने समय हो । यो समयमा डढेलो लाग्छ भन्ने थाहा हुँदा हुँदै पनि पूर्व तयारी गरेको पाइँदैन । बजेटको ११८ नं. बुँदामा डढेलो न्यूनीकरण र नियन्त्रणका लागि पर्याप्त रकम विनियोजन गरिएको उल्लेख छ । तर, धेरैको गुनासो बजेट कमी भएको गुनासो छ । त्यसैले यसका लागि पर्याप्त बजेट आवश्यक छ । स्रोत नै नभए पछि काम गर्न समस्या हुन्छ ।

    जनशक्ति पनि आवश्यक छ । डढेलो लाग्ने क्षेत्रका वडा वडामा डढेलो नियन्त्रण दस्ता हुनुपर्छ । त्यो दस्तालाई बहुप्रकोपीय विपद् बाढी, पहिरो, डुबानका बेला पनि प्रयोग गर्न सकिन्छ ।

    डढेलो व्यवस्थापन गर्नका लागि छुट्टै निकायको व्यवस्था भयो भने डढेलोको तथ्याङ्क निकाल्न सक्थ्यो । संस्थागत सुधार र विकास गर्नुपर्छ । मन्त्रालयमै डढेलो न्यूनीकरण महाशाखा वा शाखा खोल्न सकिन्छ ।

  • ‘देवदह खोज्दा भेटिएको बुद्धकाल’ : इतिहास, पुरातत्व र स्मृतिको यात्रामा डा. कृष्णप्रसाद न्यौपाने

    बुद्धकालीन देवदहको इतिहास, मंगलपुष्करिणीको खोज, रोहिणी नदी, पुरातात्त्विक सम्पदा, पर्यटन सम्भावना र अनुसन्धान यात्राबारे डा.कृष्णप्रसाद

  • कांग्रेसको एकता बिना लोकतन्त्र बलियो हुन सक्दैन : गगन थापाको नेतृत्व र देउवाको अभिभावकत्व

    नेपाली कांग्रेस यतिबेला एउटा राजनीतिक दलभित्रको सामान्य आन्तरिक विवादको अवस्थामा मात्र छैन। पार्टीभित्र विकसित पछिल्ला

  • जेन्जी आन्दोलनको एक वर्ष : सरकार ढल्यो, राज्य बदलियो त?

    ७६ सहिदको बलिदानपछि पनि उही प्रश्न-सरकार परिवर्तन भयो, तर शासनशैली र राज्य संयन्त्र कति बदलियो? गोविन्द

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend