काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले कांग्रेस-एमाले गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ ।
आज बबरमहलस्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको नेता सर्वेन्द्रनाथ शुक्लाले बताए ।
बैठकमा अध्यक्ष महन्थ ठाकुरले पछिल्लो विकसित घटनाक्रम र हिजो कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटघाट ब्रिफिङ गरेको बताए ।
गठबन्धनमा समर्थन गर्ने निर्णय गरेपछि सरकारमा जाने नजाने अहिले कुनै निर्णय नगरेको उनको भनाइ छ । उनले भने, ‘हामीसँग सरकारमा जाने नजाने भन्ने विषयमा औपचारिक छलफल कांग्रेस-एमालेले गरेको छैन ।
तर, संविधान संशोधनसहितको मुद्दाअघि सारेकाले हामीले समर्थन गर्ने निर्णय गरेका हौँ ।’ नयाँ सरकार गठनको प्रक्रिया अघि बढेपछि ठूला दलहरूसँग छलफल गर्ने उनले बताए।