काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते विश्वास मत लिने भएका छन् ।
प्रतिनिधि सभाको असार २८ गतेको बैठकमा प्रधानमन्त्री दाहालले विश्वास मतको प्रस्ताव राख्न लागेका हुन् ।
प्रधानमन्त्रीले यही असार २८ गतेको संसद बैठकमा विश्वास मत लिने तयारी गर्नुभएको छ,’ प्रधानमन्त्री दाहालको सचिवालय स्रोतले भन्यो ।
नेकपा (एमाले) ले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो भने ८ जना मन्त्रीले पदबाट राजीनामा दिएका थिए । एमालेका मन्त्रीहरूले दिएको राजीनामा स्वीकृत भइसकेको छ ।
ती मन्त्रालय प्रधानमन्त्री दाहालले हेर्ने गरी जिम्मेवारी तोकिएको छ । साथै एमालेले शुक्रबार संघीय संसद सचिवालयलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको र आफूहरू प्रतिपक्षमा बस्ने जानकारी दिएको छ ।
गत असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ समीकरण बनाउँदै सरकार र संविधान संशोधनलगायत मुद्दा अघि बढाउने सहमति भएको थियो । अल्पमतमा परेका प्रधानमन्त्री दाहालले भने आफूले संसद फेस गर्ने बताइरहेका छन् ।