Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

संसद् भवन निर्माण शीघ्र सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन


४, साउन २०८१
  • 126
    SHARES
  • संसद् भवन निर्माण शीघ्र सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन

    काठमाडौँ । सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको काम सन्तोषजनक नभएको बताउनुभएको छ ।

    तीन वर्षमा सक्ने गरी २०७६ असोज १६ गते निर्माण व्यवसायीसँग सम्झौता भएको संसद् भवनको काम समयमा सम्पन्न नभएपछि आज उहाँले सिंहदरबारमा सरोकार भएका निकायका अधिकारीहरुलाई बोलाएर जानकारी लिनुभएको हो ।

    यसअघि निर्माणाधीन संसद् भवनका १२ वटै संरचना मङ्सिर मसान्तसम्म सकेर आगामी हिउँदे अधिवेशन आफ्नै भवनमा गर्ने भनी ‘माइन्युट’ गरिएकाले त्यसैअनुरुप गर्न सभामुख घिमिरेले निर्देशन दिनुभयो ।

    “भवनमा अहिले सात इञ्चको टेलिभिजन स्क्रीन राखिएको रहेछ, बजारमा १५ इञ्चसम्मको स्क्रीन आइसकेको छ, ठूला स्क्रीनमा अक्षर पनि ठूला आउँछ, यस विषयमा ध्यान पुर्‍याउनुपर्छ, भवन निर्माण प्रगतिका बारेमा एक महिनापछि फेरि समीक्षा बैठक हुन्छ, अब थपिएको समयमा सक्नेगरी काम हुनुपर्छ”, उहाँले भन्नुभयो ।

    बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भवनको म्याद सकिएपछि थप्ने आधार प्रष्ट हुनुपर्ने उल्लेख गर्नुहुँदै संसद् भवन अन्तर्राष्ट्रिय छविको राष्ट्रिय सम्पत्ति भएकाले आकर्षक रुपमा साजसजावट गरिनुपर्ने बताउनुभयो ।

    सात इञ्चको टेलिभिजन स्क्रीनमा सांसदको टाउको पनि नदेखिने भएकाले त्यसमा पुनर्विचार गरिनुपर्ने उहाँको भनाइ थियो । अनामनगरतिरको ढोकाबाट सांसदको प्रवेश गराउने भनिएकाले एकैपटक सयौँ गाडी प्रवेश गर्दा त्यस क्षेत्रमा हुने जामका विषयमा अहिले नै सोच्नुपर्नेमा अध्यक्ष दाहालले जोड दिनुभएको थियो ।

    उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संसद् भवन राष्ट्रिय प्राथमिकताको आयोजना भएकाले यसको काम गुणस्तरीय रुपमा समयमै सकिनुपर्ने बताउनुभयो ।

    निर्माण व्यवसायीले ठेक्का लिइसकेपछि काममा ढिलाइ गर्ने गरेकाले समस्या आएको उल्लेख गर्नुहुँदै उहाँले समस्या समाधानका लागि सरोकार भएका निकायको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

    उपसभामुख इन्दिरा रानाले संसद् भवनको आन्तरिक साजसजावटमा सम्झौता बाहिरका सामग्री राखिनु नहुने बताउनुभयो । तोकिएका समयमा गुणस्तरीय रुपमा काम सम्पन्न गरिनुपर्ने उहाँको भनाइ थियो ।

    राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले मङ्सिरसम्म संसद् भवन निर्माण सम्पन्नगरी हिउँदे अधिवेशन त्यहीँबाट गरिनुपर्नेमा जोड दिनुभयो ।

    सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले आगामी हिउँदे अधिवेशनसम्म प्रतिनिधिसभा र राष्ट्रियसभाका भवन सक्नेगरी काम गरिने बताउनुभयो ।

    निर्माण व्यवसायीलाई दैनिक रु पाँच सय कामदार लगाएर काम गर्न निर्देशन दिए पनि हाल करिब एक सय ५० ले मात्र काम गरिरहेको जानकारी पनि उहाँले दिनुभयो ।

    सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक मचाकाजी महर्जनले हालसम्म ८१.५ प्रतिशत भौतिक र ७० प्रतिशत वित्तीय प्रगति भएको जानकारी दिनुभयो ।

    आयोजनाका सबै काम सम्पन्नगरी हस्तान्तरण गर्न २०८१ चैत १८ गतेसम्मको समय थप गरिएको जानकारी पनि उहाँले दिनुभयो ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend