काठमाडौँ । लुम्बिनी प्रदेश पूर्वसांसद निर्मला क्षेत्रीले जनताको भरोसा जित्न अब पार्टीले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न आवस्यक रहेको बताउनुभयो ।
सोमबार काठमाडौँमा आयोजित ‘वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र’ विषयक विचार गोष्ठी र श्रमिक विमर्श विशेष स्मारिका विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
पूर्वसांसद निर्मला क्षेत्रीले देशमा भबिष्य अन्धकार देखेर रोजगारीको सिलसिलामा दिनप्रतिदिन विदेशिन बाध्य युवाहरुलाई देशमै रोक्न सकेमा देशले मुहार फेर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, त्यसको लागि हामीहरूले देशमै कृषि तथा रोजगारीका अवसरहरु सिर्जना गर्न आवश्यक छ । कृषि तथा रोजगारीको माध्यमबाट देशको उत्पादकत्व बढन गई देशले विशिष्टकरण हासिल गर्न सक्छ ।
नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश संसदीय दलको पुर्वसचेतक समेत रहेकी क्षेत्रीले अबको सरकारले महिला अधिकारलाई सुनिश्चित गर्नुको साथै शिक्षा, स्वास्थलाई विशेष प्राथमिकताका साथ हेर्नुपर्ने आवस्यकता रहेको उल्लेख गर्नुभयो ।
उहाँले यो सरकारबाट जनताले ठुलो आशा र भरोसा गरेका छन । देशमै आर्थिक उन्नति, रोजगारी सिर्जना गर्ने वातावरण वर्तमान सरकारले बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाली काङ्ग्रेसका नेता तथा नेपाल सरकारका उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष खिलानाथ दाहालले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रतिष्ठानकी कोषाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अन्जनी श्रेष्ठले राख्नुभएको थियो ।