गुल्मी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारीले समाज, संस्कृति र सम्बन्ध राजनीतिक आधारमा बिगार्ने अधिकार कसैलाई नभएको बताउनुभएको छ ।
जिल्ला समन्वय समिती गुल्मीद्वारा आयोजित वार्षिक योजना समिक्षा कार्यक्रमको गुल्मीको सदरमुकाम तम्घासमा उद्घाटन गर्नु हुँदै उहाँले उक्त विचार व्यक्त गर्नू भएको हो ।
गुल्मी निर्वाचन क्षेत्र नम्बर-१ बाट निर्वाचित सङ्घीय सांसद डाक्टर भण्डारीले नेपाली समाज परापूर्वकालदेखि आफ्नो छुट्टै संस्कृति र संस्कार अनुसार सञ्चालन हुँदै आएकाले यसलाई राजनीतिक रूपमा बिगार्ने अधिकार कुनै दल र नेता कसैलाई पनि नभएको बताउनुभयो ।
संविधान निमार्णको क्रममा समेत आफूलाई राजनैतिक रूपमा पहाड र तराईलाई छुट्टाउन आफ्नै पार्टीका नेताहरूबाट आएको दबाबलाइ स्मरण गर्दै नेता भण्डारीले आफू ग्यास दुर्घटनामा परी पुर्नजिवन पाएको भन्दै आफूलाई जनतालाई ढाँट्ने, छल्ने र झुट बोल्ने छुट नभएको र जस्तोसुकै परिस्थितिमा पनि देश र जनताको पक्षमा बोल्ने र काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो।
आफू ग्यास दुर्घटनामा पर्दा कोही, मन्दिर, कोही, मस्जिद, कोही चर्चमा गएर आफ्नो जीवन रक्षाका लागि प्रार्थना गरेको बताउँदै राजनीति इमानका लागि पनि जनताको आवाज बोल्ने उहाँले बताउनुभयो ।
पछिल्लो समय नेपालको अर्थतन्त्र अत्यन्त खराब अवस्थाबाट गुज्रिरहेको समयमा जिल्लामा आएको बजेट फ्रिज जान नदिन सहि र पारदर्शी ढंगले योजना कार्यन्वयनमा जिल्लाका राजनीतिक दल,जनप्रतिनिधि र कर्मचारीबाट सक्रियता देखाउनुपर्ने कुरामा जोड दिनुभयो।
दुई दिनसम्म सञ्चालन हुने समीक्षा कार्यक्रममा जिल्लाका १२ वटै स्थानीय तहका प्रमुख र अध्यक्ष, उपप्रमुख,उपाध्यक्ष,जिल्ला स्थित संघीय,प्रदेश कार्यालयहरुका प्रमुख तथा प्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतहरू,नागरिक समाज,गैरसरकारी संघ संस्था र संचारकर्मी लगायतको सहभागिता रहेको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीले बताउनुभयो ।