Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

चालु अधिवेशनको अन्तिम दिन संसद्मा प्रधानमन्त्री अ‍ोलीले के भने ? (पूर्णपाठसहित)


३१, भदौ २०८१
  • 121
    SHARES
  • चालु अधिवेशनको अन्तिम दिन संसद्मा प्रधानमन्त्री अ‍ोलीले के भने ? (पूर्णपाठसहित)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको न्युयोर्कस्थित कोलम्बिया विश्वविद्यालय र बोस्टर्नस्थित हार्बर्ड विश्वविद्यालयमा पनि सम्बोधन गर्ने भएका छन् ।

    संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकामा रहँदा यी दुई विश्वविद्यालयमा पनि सम्बोधन गर्ने उनले जानकारी गराए ।

    सोमबार प्रतिनिधिसभा बैठकमा उनले आफूहरूले रोजेर ल्याएको लोकतान्त्रिक प्रतिस्पर्धाको प्रणालीबारे ती विश्वविद्यालयमा प्राज्ञिक दृष्टिकोण राख्ने जानकारी गराएका हुन् ।

    अमेरिका भ्रमण र राष्ट्रसंघको महासभामा भाग लिने विषयबारे उनले प्रतिनिधिसभामा विस्तृमा जानकारी गराए ।

    प्रधानमन्त्री ओलीले सदनमा गरेको सम्बोधनको पूर्ण विवरण यस्तो छ

    आज म विशेष प्रयोजनका लागि यस रोष्टममा उभिएको छु। खासगरी संयुक्त राष्ट्र संघको ७९औं महासभामा भाग लिनका लागि नेपालको प्रतिनिधित्व गर्दै म असोज ४ गते त्यसतर्फ प्रस्थान गर्दैछु। आज त्यस कुराको जानकारी दिन र अलिकति संयुक्त राष्ट्र संघमा नेपालको प्रस्तुतीका सम्बन्धमा केही कुराहरू राख्न यहाँ उभिएको छु।

    यद्यपि आज उठेका कुराहरू थुप्रै छन्, जसका बारेमा मैले आफ्ना दृष्टिकोणहरू प्रस्तुत गर्नैपर्छ कुनै समय, तर आज म प्रस्तुत गर्दिनँ। किनभने आज बेग्लै सन्दर्भमा म यहाँ उभिएको छु। यतिबेला म देशभरि विभिन्न ठाउँमा केही समय यता भएका प्राकृतिक विपत्तिका घटना र दुर्घटनामा जीवन गुमाउने, अंगभंग हुने, धनजनको क्षति हुने अवस्थाप्रति दुःख व्यक्त गर्न चाहन्छु। दिवंगतहरूप्रति श्रद्धासुमन अर्पण गर्न चाहन्छु, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्न चाहन्छु। र, घाइतेहरूको उपचारको जिम्मा सरकारले लिने कुरा पनि स्पष्ट पार्न चाहन्छु। यो सरकारले गर्ने नै गरेको छ, फेरि पनि हामी गर्छौं।

    यसै प्रसङ्गमा मैले प्राकृतिक विपत्ति पनि होइन, पाँचथरमा दुई जना बालबालिकाहरूको निधन भयो। अहिले त्यति भनौं। कसरी निधन भयो भन्ने अब पछि कुरा गरौंला। बम विस्फोटबाट भन्न हुने हो कि नहुने हो १ यहाँ त अन्योल भइराखेको छ। तर बम विस्फोटबाट दुई बालबालिकाको मृत्यु भयो। म दुःख व्यक्त गर्न चाहन्छु। उहाँका परिवारजनलाई सरकारले रु पाँच पाँच लाखका दरले क्षतिपूर्ति दिने र दुई जना अरु घाइते छन्, उनीहरूको उपचारको जिम्मा सरकारले लिनेछ। त्यो पनि म यस गरिमामय सभालाई सम्माननीय सभामुखमार्फत् जानकारी गराउन चाहन्छु।

    मैले अघि नै भनेँ, थुप्रै विषय भएपनि आज म धेरै विषयहरूमा जान चाहन्नँ। धेरै विषयमा म आज बोल्न चाहन्नँ। मैले अघि नै प्रारम्भ गरिसकेको थिएँ कि संयुक्त राष्ट्र संघको महासभामा सहभागि हुन संविधान तथा राष्ट्रिय दिवसको भोलिपल्टै ४ गते म संयुक्त राष्ट्र संघको हेडक्वाटरतर्फ प्रस्थान गर्दै छु।

    म यस गरिमामय संसदलाई सम्माननीय सभामुखज्यूमार्फत् स्पष्ट गर्न चाहन्छु, नेपालका आफ्ना नीति छन्, आफ्ना दृष्टिकोण छन्, आफ्ना अडानहरू छन्। आफ्ना समस्याहरू छन्, आफ्ना उपलब्धिहरू छन्। र, ती हाम्रा समस्याहरू, हामीले प्राप्त गरेका उपलब्धिहरू अगाडि बढ्नुपर्ने हाम्रा अभिभाराहरू छन्। ती कसरी पूरा गर्न सकिन्छ वा कसरी पूरा गर्ने भन्ने कुरा, हामी यस सन्दर्भमा के प्रयास गरिरहेका छौं, त्यो कुरा विश्वलाई जानकारी गराउने कुरा र हाम्रा मात्रै प्रयासले नहुने ठाउँमा हामी बाह्य जगतसँग कसरी हातेमालो गरेर अगाडि बढ्न चाहन्छौँ भन्ने कुराहरू समेतमा आफ्ना दृष्टिकोणहरू नेपालको तर्फबाट मैले प्रस्तुत गर्नेछु।

    हामीले प्राप्त गरेको लोकतन्त्र, लोकतन्त्रलाई व्यवस्थित ढंगले सञ्चालन गर्न हामी आफैँले बनाएको संविधान र संविधानका विभिन्न पक्षहरूको संक्षिप्त र नेपालको लोकतन्त्रप्रतिको प्रतिबद्धता यी सबै कुृराहरूलाई म त्यहाँ स्पष्टताका साथ राख्नेछु। नेपाल एउटा सार्वभौमसत्तासम्पन्न, स्वतन्त्र र स्वाधीन राष्ट्र हो। यसले आफ्नो राष्ट्रिय गौरवलाई अझ माथि उठाउने छ र आफ्ना जायज राष्ट्रिय हितहरू, न्यायोचित राष्ट्रिय हितहरू र अन्तर्राष्ट्रिय उत्तरदायित्वभित्र रहेर पूरा गर्ने, रक्षा गर्ने, संवद्र्धन गर्ने र राष्ट्रिय हितलाई तलमाथि पर्न नदिने नेपालको प्रतिबद्धता गरेको छ।

    नेपाल असल छिमेकीको रुपमा छिमेक सम्बन्ध कायम राख्न चाहन्छ। छुद्र र जाली छिमेकी होइन। असल छिमेकीको रुपमा, छिमेकीको अहित चिताउने छिमेकीको रुपमा होइन, छिमेकीको हित चिताएर काम गर्ने छिमेकीको रुपमा बस्न चाहन्छ र त्यस्तै व्यवहार छिमेकीहरूबाट पनि चाहन्छ।

    नेपालको परराष्ट्र नीतिमा आधारभूत रुपमा भन्ने हो भने–छैन कसैसँग शत्रुता, सबैसँग छ मित्रता। यो नीतिबाट नेपाल निर्देशित छ, गाइडेड छ। संयुक्त राष्ट्र संघको बडापत्र, असलग्न आन्दोलनका सिद्धान्तहरू र आन्तरिक मामिलाहरूमा हस्तक्षेप नगर्ने, कसैको सार्वभौमसत्तामा दख्खल नदिने र आफ्नो स्वतन्त्र हैसियतको, स्वतन्त्र नीतिमा कुनै हस्तक्षेप पनि अस्वीकार गर्ने नेपालको स्थापित नीति छ। त्यो कुरा पनि हामी संयुक्त राष्ट्र संघमा राख्नेछौं।

    यहाँका केही आन्तरिक प्रवृत्तिहरू होलान्। थुप्रै साथीहरूले आन्तरिक प्रवृत्तिहरूको बारेमा उठाउनुभएको छ। हाम्रो संसदको गरिमालाई कमजोर बनाउने खालका भाषा, शैली, उत्तेजना वा व्यवहारजस्ता विषयहरूलाई त्यहाँ लगेर छरिने छैन। त्यहाँ राष्ट्रका विषयहरू, राष्ट्रका कुराहरू, राष्ट्रका समस्याहरू, राष्ट्रका चुनौतीहरू, राष्ट्रका अवसरहरू यसमा केन्द्रित भएर छलफल गरिनेछ।

    यसपटक सामान्य सम्बोधन गर्ने जस्तो विषय मात्रै होइन। विभिन्न विषयहरूमा केन्द्रित भएर संयुक्त राष्ट्र संघको महासभाले नै छलफलको आयोजनाहरू गरेको छ। फ्युचर समिट भनेर आयोजना हुँदैछ। फ्युचर समिट भनेको मानव जातिको र धर्तीको कसरी सुरक्षित भविष्य सुनिश्चित गर्ने, यसका निम्ति हाम्रा बालबालिका, हाम्रो वातावरण आदिका पक्षहरूलाई कसरी गम्भीरताका साथ लिने र सहकार्य गरेर आजको विश्व अगाडि बढ्ने भन्ने सन्दर्भमा छलफल हुनेछ। म त्यहाँ राम्ररी नेपालको दृष्टिकोणहरू प्रस्तुत गर्नेछु।

    त्यसै गरेर स्मल आइल्याण्ड कन्ट्री, समुन्द्रको सतह बढेको विषय आदि कुराहरूको छलफल हुनेछ। हामी वातावरणीय विषयमा यसको सन्दर्भमा सबैभन्दा पहिले त हिमाल र समुन्द्रको इकोसिस्टमको बारेमा त्यहाँ नेपालको दृष्टिकोण पनि प्रस्तुत गर्ने छौँ। इकोसिस्टम र समुन्द्रको सतह बढ्नुका पछाडि हिमालको हिउँ पग्लनु कारण रहेको छ। हिमालबाट हिउँ पग्लिएर हिमालमा हिउँ नअडिएको हुनाले अत्यधिक मात्रामा गएपछि, यो सानो मात्रामा जाँदैन, विशाल नदीहरू बढी हिउँ पग्लिएर अनवरत गइरहेका छन् र एउटा नियमित चक्रमा मात्रै होइन, बढी गइरहेका छन्। जति हिमालले हिउँ बोक्नु पर्दथ्यो, त्यति नबोकिरहेको छ। त्यस्तो किन भएको छ, त्यसका कारणमा जानु पर्दछ। समुन्द्रको पानी प्रदूषित हुने कुरा र वायुमण्डलमा आएको प्रदुषणदेखि लिएर एसिड र सल्टी सिडहरू हिमालसँग ठोकिन जाने कुराहरूदेखि लिएर यसले पारेको प्रतिकूल असरजस्ता कुराहरूमा हामीले विश्वको ध्यानकर्षण गराउनु पर्नेछ। र, क्लाइमेटको इस्युसँग हाम्रा हिमालयको सम्बन्ध के छ र हाम्रो हिमाललाई, हाम्रो हिमाल भनेको हाम्रो मात्रै हिमाल होइन, हाम्रो भूूगोलमा अवस्थित छ आमरुपमा। तर यो यसको मात्रै होइन, ग्लोबल कन्सर्नको समस्या हो।

    जब हामी पिपुल र प्लानेटको कुरा गर्छौ। आज ध्यान दिनुपर्ने विषय भनेको दुईवटा विषय हुन्–पिपुल एण्ड प्लानेट। इन्भाइरोनमेन्टको कुरा गरौं, पोभर्टी एलिभियसनको कुरा गरौं वा अरु जुनसुकै कुरा गरौं, जेसुकै कुरा गरे पनि–पिपुल एण्ड प्लानेट। प्लानेटको फ्युचर हाम्रो फ्युचर जेनेरेशन र आजको चिल्डेन र भोलिका बालबालिकासमेतको सेक्योर कसरी गर्ने रु यी सबै विषयहरूमा छलफल हुँदैछ।

    आज दुनियाँले भोगिरहेको र नेपालले पनि बहुतै सिरियस्ल्ली भोगिरहेको ड्रगको समस्या, यस विषयमा पनि संयुक्त राष्ट्र संघले यसपटक एउटा सेग्मेन्ट राखेको छ, एउटा छलफलको विषय राखेको छ। तत्सम्बन्धमा हामीले पनि गम्भीर रुपमा ध्यानकर्षण गर्नु पर्ने छ। यसमा हाम्रो देशभित्र भइरहेका छलफल र अलिक चर्को गरी उठ्न र उठाउन खोजिएका विषयहरू त्यसको बारेमा म अहिले जान चाहन्नँ। कति मात्रै भन्न चाहन्छु भने, ड्रगजस्ता कुराहरू, लागुपदार्थजस्ता कुराहरू यसले मानव जातिको भविष्यलाई खतरामा पार्छ। यस्ता विषयमा हामी सजग हुनुपर्दछ र हामीले आफ्नो दृष्टिकोण र ड्रग्स नियन्त्रणसम्बन्धी र त्यसको प्रयोगलाई समाप्त पार्ने दिशामा नेपालको योगदान, ड्रग्सको कारोबारलाई अन्त्य गर्ने सम्बन्धमा, ड्रग्सको भूमिकालाई अन्त्य गर्ने सम्बन्धमा नेपालको दृष्टिकोण पनि मैले त्यहाँ प्रस्तुत गर्नेछु।

    यस्ता विविध गम्भीर विषयहरू दुनियाँले भोगिरहेको र हामीले पनि भोगिरहेका विषयहरू, जसले हामीलाई अलार्म बजाइरहेका छन्। खतरनाक भविष्यको संकेत गरिरहेका छन्। त्यस्ता विषयहरूको बारेमा पनि मैले त्यहाँ बोल्ने छु। साथै, यसपटक मैले न्युयोर्कस्थित धेरै विद्धानहरू जन्माएको र झण्डै तीन सय वर्ष पुग्न लागेको इतिहास भएको विश्वविद्यालय न्युयोर्कस्थित कोलम्बिया विश्वविद्यालयमा एउटा सम्बोधन पनि गर्ने छु। त्यसै गरेर बोस्र्टनमा अवस्थित हार्वड विश्वविद्यालयमा पनि एउटा सम्बोधन गर्ने छु। प्राज्ञिक क्षेत्रबाट विश्वको ध्यान नेपाल र नेपालीको दृष्टिकोणहरू, नेपालको अवस्था र नेपाल जान खोजेको कुरा बताउने छु। नेपाल डेमोक्रेसीका लागि लडेर आएको छ। पोलिटिकल पार्टी सिस्टम, प्रतिस्पर्धात्मक डेमोक्रेटीक सिस्टम हामीले रोजेर ल्याएका हौ। मैले पहिले पनि भन्ने गरेको छु र यसै रोष्टमबाट पनि भन्ने गरेको छु–प्रतिस्पर्धा स्वस्थ हुनु पर्दछ। प्रतिस्पर्धा भनेको झुटो कुराको बखान होइन। झुटा आरोप, लाञ्छना प्रतिस्पर्धा होइन। कुइनो हानाहान, छिर्के लडाउने प्रतिस्पर्धा होइन। प्रतिस्पर्धा दौडनु हो।

    हामी स्वतन्त्रताका हकहरूको पक्षमा छौं। वाक् स्वतन्त्रता, प्रेस स्वतन्त्रता तर सामाजिक मर्यादाका प्रबन्धहरू हामी मान्छौँ। हामी एनिमल मात्रै होइनौं, हामी सचेत जीव हौं। हामीले समाज विकास गरेका छौं, समाजले थिति र मूल्यमान्यता विकास गरेको छ। हामी ती मूल्य मान्यता, हाम्रा सुन्दर संस्कृति, र परम्पराहरूलाई भत्काउन सक्दैनौँ। यहाँभित्रका बेठीक र अनुपयुक्त भइसकेका पक्षहरूलाई हटाउनु पर्दछ र ठीक कुराहरूलाई जर्गेना गर्दै अगाडि बढ्नु पर्दछ। एनार्किज्म र डेमोक्रेसी यी कुराहरूलाई हामीले छुट्याउन सक्नु पर्दछ। अराजकता डेमोक्रेसी होइन। मैले २०१९ मा डाभोस इकोनोमिक समिटमा जाँदा त्यहाँ पनि साइडलाइनको एउटा भेटघाटमा सायद न्युयोर्क टाइम्सका पत्रकारले सोध्नुभएको थियो कि प्रेस स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, वाक् स्वतन्त्रता, अभिव्यक्ति स्वन्त्रता आदिका बारेमा, मैले त्यस बेला त्यही भनेको थिएँ–पत्रकारिता स्वतन्त्र छ तर पीत पत्रकारिता, झुटो पत्रकारिता, समाजमा बेठीक कुराहरू फैलाउने पत्रकारितााई हामीले अलिकति सोध्नै पर्छ, सोधिखोजी गर्नै पर्छ। झुटा कुराहरूको खेती गरेर समाजको सम्बन्ध बिगार्ने, मान्छेहरूका परिवार बिगार्ने, पारिवारिक सम्बन्ध बिगार्ने, साथीहरूका सम्बन्ध बिगार्ने आदि कुराहरू, अरुका कुराहरू अनावश्यक व्यक्तिगत इस्युहरूलाई पनि खोजेर उछालेर नभएका कुराहरू पनि जोडिजोडिकन दिने प्रकारका क्रियाकलापहरू उचित हुँदैनन्।

    सम्मानित सदन र माननीय सदस्यहरू सबैलाई म सभामुखमार्फत् भन्न चाहन्छु, उठ्दै नउठेका कुराहरूमा प्रस्ताव नै नआएको कुरामा छलफल कसरी चलेको हो, त्यो मैले बुझेको छैन। प्रस्ताव पनि आएको छैन, छलफल पनि भएको छैन। कसैले विषय उठान नै गरेको छैन। उठान नै नगरेका विषयमा उत्पातै १ म त हेरिराखेको थिएँ, के भएको होला १ उठाएकै छैन। त्यो विषयमा कसैले के भनेर छलफल गर्‍यो भने त्यो छलफल संसदमा आएर भएको पनि होइन, कहीँ कसैले कुरा गरे अरे भनेको सुन्दाखेरी के कुरा गरेका थियौ, किन यस्तो कुरा गर्‍यौ, ए बाबा १ त्यो कस्तो हो संसदमा कुरा उठ्छ, के विषयमा भनेर मान्छेले छलफलमा यस्सो बोल्न पनि के रहेछ भनेर सोध्न पनि नपाउने रु अनि एथ्निसिटीका कुरा, जेण्डरका कुरा आदि अनेक कुराहरू उछालेर गालीगलौजका भाषाहरू १ साथीहरू थुप्रैले राखिसक्नुभएको छ, बोलौ ठीक छ। आलोचना गरौं। तर भाषाको सीमा हुन्छ होला। हामी सभ्य नेपाली समाजमा छानिएका सभ्य प्रतिनिधि होँ। हाम्रा क्रियाकलाप र बोली व्यवहारमा समाजले एउटा नमुना प्रतिबिम्बको अपेक्षा खोज्ला। आफ्नो सभ्यताको, शिष्टताको, मर्यादाको प्रतिबिम्व सांसदहरूबाट आयो भन्ने जनताले ठान्नुपर्ला। त्यसो भएर म अहिले त्यता धेरै नजाऔं।

    म संयुक्त राष्ट्र संघमा जाँदैछु र म ढुक्क रहन माननीयजीहरूलाई भन्न चाहन्छु, फर्किएर आएपछि फेरि मैले सदनको बैठकमा के गरेँ, कसो गरेँ भन्नेछु। मेरा सबै वक्तव्यहरू सबै मिडियाहरूमा आइसकेको हुन्छ, कुनै गोप्य हुँदैन। त्यसमाथि पनि मैले यस गरिमामय सदनलाई रिपोर्टिङ गर्ने छु कि मैले यो यो चिज गरेर आए, यो यो कुरा बोलेर आए, यसमा प्रकाश पारेर आए, यस्तो गरेर आए भनेर भन्ने छु। म नेपालको शिर ढल्नेगरी, नेपालको इज्जत तल पर्नेगरी, नेपालको कुनै पनि हिसाबले प्रभाव, प्रतिष्ठा, हित, सरोकार केही पनि तल पर्नेगरी काम गर्दिनँ।

    एकजना माननीयजीले अघि उठाउनुभएको थियो कि हामीले गर्ने राजनीति भनेको देश र जनताका लागि हो। आजका लागि हो, आजभन्दा बढी भोलिका लागि हो। त्यसो भएर हामी जुन घरको जग राख्छौं, जग राख्ने बित्तिकै बस्न पाइँदैन। जहाँ शिलान्यास गर्छौं, त्यहाँ बस्न पाइँदैन, त्यो त भोलि बस्नका लागि हामी बनाउँछौं। भोलिका लागि केही नगर्ने हो भने त धर्ती बाँझो हुन्छ, उर्वराहीन हुन्छ। हामी भोलिका लागि बढी गर्छौं, आजका लागिभन्दा। असारका लागि असारमा धान रोपिएको होइन, कात्तिक र मंसिरका लागि रोपिएको हो। यो कुरा बुझेर नै हामी हाम्रा नीतिहरूमा अगाडि बढ्छौं।

    अहिले धेरै विषयहरूमा म जान चाहन्नँ। म दुवै सदनका सबै माननीयज्यूहरूमा समेत र यस सदनमार्फत् सम्पूर्ण नेपाली जनतामा पनि दशैको धेरै धेरै शुभकामना भन्न चाहन्छु र निकट भविष्यमा दुई दिनपछि संविधान तथा राष्ट्रिय दिवस आउँदै छ। यो हामी सबै नेपालीका संघर्ष र उपलब्धिहरूको साक्षी हो, प्रतिफल हो र प्रतीक हो। यसकारण यस दिवसको पनि धेरै धेरै शुभकामना भन्न चाहन्छु। दशै तिहारको पनि शुभकामना भन्न चाहन्छु र मलाई बोल्न समय दिनुभएकोमा सम्माननीय सभामुखज्यूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend