रुपन्देही । नेपाल मगर महिला संघ, तिलोत्तमा, रुपन्देहीले २७औँ स्थापना दिवस भव्यताका साथ मनाएको छ ।
नेपाल मगर महिला संघले हरेक वर्ष असोज १ मा विभिन्न कार्यक्रमहरु गर्दै स्थापना दिवस मनाउँदै आएता पनि यस वर्ष संविधान पुनर्लेखनको औचित्य र आवश्यकता विषयकमा अन्तरकृया तथा प्रशिक्षण कार्यक्रम गरी फरक शैलीमा मनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर युवा संघका केन्द्रीय महासचिव राम अस्लामी मगर (रोशन)ले संविधान जारी भएको एकदशक बितिसक्दा पनि आदीवासी जनजातीहरुको अधिकार सुनिश्चितता हुन नसकेको बताए । नेपालमा अझै पनि सामन्तवादको अवशेष रहेको हुँदा मगर समुदायमाथि भाषिक, सांस्कृतिक, धार्मिक र राजनीतिक विभेद यथावत नै छ । तसर्थ संविधान २०७२ जुनसुकै हालतमा भएपनि पुनर्लेखन गर्नुपर्ने उनले बताए ।
उनले संविधानमा प्रथम सहिद लखन थापा मगर भनेर घोषणा गरेता पनि राज्यले ओझेल पार्दै आएको र यसको प्रमुख भूमिका प्रधानमन्त्री केपी ओलीले गरेको आरोप लगाए । देशकै प्रथम सहिदलाई सम्मान गर्न नसक्ने देशका कार्यकारी प्रमुख छन, सोच्नुहोस् देशका जनताको हालत कस्तो होला ? भन्दै प्रश्न गरे । विभेदकारी संविधानविरुद्ध मगर समुदाय लगायत उत्पीडित जाति समुदायले गुमाएको आफ्नो अधिकार सुनिश्चित गर्नका निम्ति एक ढिक्का भएर अघी बढ्न् उनले आह्वान गरे ।
स्थापना दिवसको सन्दर्भमा, संविधान दिवसको पुर्व सन्ध्यामा सामाजिक तथा बौद्धिक ब्यक्तित्व युवा नेता डिबी थापा मगरले संविधान पुनर्लेखन र औचित्य र आवश्यकता विषयकमा प्रशिक्षण दिएका थिए । संविधान २०७२ उत्पीडित जाती समुदाय खासगरी आदिवासीहरुको पक्षमा नरहेको बताए । जनसंख्याको हिसाबले पनि देशकै तेस्रो स्थानमा पर्ने मगर समुदाय, जनजाती र उत्पीडित वर्गको पक्षमा यो संबिधान निर्माण हुन नसकेको तथ्यांक नै प्रस्तुत गरेका थिए । वर्तमान सत्ता गठबन्धनको सरकारले प्राप्त उपलब्धी नै खारेज गर्ने षड्यन्त्र खेलेको थापाले आरोप लगाए ।
त्यसैगरी कार्यक्रममा विशिष्ठ अतिथि नेपाल मगर संघ, रुपन्देहीका जिल्ला सदस्य रुद्र चिदी, आदीवासी जनजाती महासंघ, तिलोत्तमाका अध्यक्ष गंगा छन्त्याल अतिथी नेपाल मगर संघ, तिलोत्तमाका उपाध्यक्ष कृष्ण सारु,तिलोत्तमा-८ र ४ का वडा अध्यक्ष प्रेम विरकट्टा र देवी पचभैयाले शुभकामना मन्तब्य राखेका थिए ।
सह-सचिव नानुमाया राना मगरको स्वागत मन्तब्य रहेको कार्यक्रममा राधिका श्रीस मगरको अध्यक्षता र सचिव मनमाया थापा मगरको सञ्चालन रहेको थियो । उक्त कार्यक्रम नेपाल मगर महिला संघ, तिलोत्तमा कार्य समितिको आयोजनामा सम्पन्न भएको हो ।