काठमाडौं । सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेविरुद्ध कारबाही सिफारिश भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीभित्र नेतृत्व हत्याउनेगरि षड्यन्त्र भएको चर्चा छ ।
खासगरी सभापति लामिछानेलाई हटाएर नेतृत्व लिन विपक्षीहरुसँग केही नेताले साँठगाँठ गरेको अहिले घण्टीघरतिर चर्चा चल्न थालेको छ ।
गृहमन्त्री रमेश लेखकले सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनको लागि निर्देशन दिएकै दिन रवि लामिछानेका साझेदार छविलाल जोशी पक्राउ परे । रविलाई पनि हिजै पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालित भएको सन्देश प्रवाह भएको थियो ।
तर, प्रहरी प्रवक्ता डिआईजी दानबहादुर कार्कीले भने लामिछानेलाई पक्राउ गर्न प्रक्रिया नै नथालिएको स्पष्ट पारेका थिए । रवि समर्थकहरु हिजो रास्वपाको मुख्यालय घण्टीघरमा भेला भएका थिए ।
उनीहरुले सरकारविरुद्ध र रविको पक्षमा चर्को नाराबाजी गरेका थिए । स्वयम लामिछानले पनि उपस्थित् मिडियाकर्मी र आफ्ना नेता तथा कार्यकर्ताहरुलाई संक्षिप्त सम्बोधन गरेका थिए ।
लामिछानेले आफूलाई कसैको अनुकम्पा नचाहिएको र आफूले गल्ती नगरेकोले नडराएको स्पष्ट पारेका थिए । उनले अनुसन्धानमा सघाउन जहिल्यैपनि तयार रहेको उद्घोष गरेका थिए ।
नले आफूलाई वर्तमान सरकारले जतिबेला पनि पक्राउ गर्नसक्ने भनी सुनाएका थिए । रास्वपाकै मुख्यालयमा भेला भएकाहरुले भने सहकारी छानबिन समितिको प्रतिवेदनमा दोषी ठहर गरेकोले अब कानूनी प्रक्रियालाई सघाउनुपर्ने गाईंगुईं गरेका थिए ।
कतिपयले भने शिशिर खनालले नै समितिको प्रतिवेदनमा हस्ताक्षर गरेकोले कतै सभापतिविरुद्ध षड्यन्त्र नै रचिएको होईन भनेरपनि चर्चा गरेका थिए ।
अहिले रास्वपाको नेतृत्व हत्याउनको लागि डिपी अर्याल र डा.स्वर्णिम वाग्लेको प्रतिष्पर्धा रहेको चर्चा छ । वाग्लेको पक्षमा आधा दर्जन सांसद रहेको बताईएको छ । अहिले वाग्ले १४ जनाको टोली लिएर चीन भ्रमणमा छन् । त्यो भ्रमण दलमा खनाल पनि छन् । उनीहरुलाई आजै स्वदेश फर्किन भनिएको थियो ।
तर, टिकटको व्यवस्था नभएको कारण देखाउँदै भ्रमण टोली उतै अड्किएको छ । वाग्लेले त आफूले कहिल्यैपनि नेतृत्वमा दृष्टि नराखेको र रवि लामिछानेकै नेतृत्वमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले लामिछाने नेतृत्वको रास्वपालाई पनि विभाजनको लागि माहोल बनाएको चर्चा छ ।
अहिले रास्वपाबाट निष्कासित मुकुल ढकालले लामिछानेविरुद्ध फायर खोलेका छन् । उनकै नेतृत्वमा रास्वपाभित्र विद्रोह हुने हल्ला थियो । अबको एक साताभित्रै लामिछाने नेतृत्वको दल छिन्नभिन्न बनाउनेगरि कांग्रेस र एमालेको नेतृत्वबाट होमवर्क भएको पनि चर्चा छ ।