काठमाडौं । सरकारले श्रीलंकाका लागि राजदूतमा प्रस्ताव गरेका रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन् ।
भट्टराईको संसदीय सुनुवाइ सकिए पनि अनुमोदन गर्ने वा नगर्ने समितिले निर्णय गरेको थिएन । उनले स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र पेस गर्न सकेका थिएनन् । जसका कारण समितिले उनको नाम अनुमोदन गरेको थिएन ।
सुनुवाइ समितिको बैठक मंगलबार बस्दैछ । उक्त बैठकअघि नै उनले आफ्नो नाम फिर्ता लिएको समितिमा जानकारी गराएका हुन् ।
नेपाली कांग्रेसको कोटाबाट राजदूत सिफारिस भएका उनले शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्न नसकेपछि अनुमोदन नहुने निश्चित बनेको थियो ।
सुनुवाइ समितिले भट्टराईको नाम अस्वीकृत गर्ने तयारी गरेको थियो । आइतबार र सोमबार पनि सुनुवाइ समिति बैठक बसेको थियो तर दुई तिहाइ सांसद उपस्थित नभएकोले केही निर्णय भएको थिएन ।