काठमाडौँ । नेपाली कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागले बाढी पहिरो र डुबानका घटनाबाट देशभर ठूलो जनधनको क्षति पुगेकोप्रति दुःख व्यक्त गरेको छ ।
असोज १० गतेदेखि तीन दिनसम्म देशभर परेको अविरल वर्षाका कारण बाढी पहिरो र डुबानका घटनाबाट देशभर ठूलो जनधनको क्षति पुगेको छ । घटनामा परी २०९ जनाको मृत्यु, २१ जना बेपत्ता र १४२ जना घाइते भएका छन् । यस दुःखद घडीमा मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारलाई उचित राहतको व्यवस्था मिलाउन, वेपत्ताको खोजी र घाइतेको यथाशीघ्र निःशुल्क उपचारको व्यवस्था मिलाउन यस विभाग नेपाल सरकारसँग माग गरेको छ ।
नेपालीहरुको महान् पर्व विजयादशमीको पूर्वसन्ध्यामा भएको यस अकल्पनीय घटनाले जनताहरुमा त्रास उत्पन्न भएको छ । कयौँ जनता चाडपर्व मनाउन आफ्नो घर जान पाईंदैन कि भन्ने चिन्तामा छन ।
यस विषम परिस्थितीमा बाढीपहिरोबाट सुरक्षा निकाय र सडक विभागको समन्वयमा अवरुद्ध राजमार्ग, सहायक मार्ग तथा पुलको चाँडो मर्मतसम्भार गरी यातायातका साधन सुचारु गर्न समन्वय विभागले सरकारसँग माग गरेको छ ।
राष्ट्रिय विपद्को घडीमा विभागमा आवद्ध सङ्घ, प्रदेश र स्थानीय तहमा रहेका शुभेच्छुक संस्थाका साथीहरुलाई आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न अनुरोध गरेको समन्वय विभाग प्रमुख अब्दुल सत्तारद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।