काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का मन्त्रालयको फोहोर व्यवस्थापनमा आँफै खटिएका छन् ।
मन्त्री खड्काले शनिबार मन्त्रालय परिसरभित्र रहेको फोहोर व्यवस्थापन गरि कर्मचारीलाई समेत हौसला प्रदान गरेका छन् । सरसफाई गर्ने क्रममा उनले मन्त्रालय, मन्त्रालय अन्तर्गत रहेका सबै कार्यालयलाई सफा राख्न आग्रह गरेका छन् ।
मन्त्री खड्काले मन्त्रालय र यसअन्तर्गतका कार्यालयमा रहेका पुराना तथा प्रयोगमा नआएका सवारी साधनलाई कानूनबमोजिम लिलामी प्रक्रिया अगाडि बढाउन समेत कर्मचारीलाई निर्देशन दिए ।
उनले सरसफाईको सुरुवातलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले भने, “हामी सबैलाई स्वस्थ्य राख्न सबैले सरसफाईमा ध्यान दिनुपर्छ । भोलीका दिनमा साच्ची नै मन्त्रालय सफा भएको अनुभूती आम सेवाग्राहीले महसुस गर्न पाउनुपर्छ ।”
मन्त्रालयका सहसचिव शम्भुप्रसाद मरासिनीले मन्त्रीको नेतृत्वमा भएको सरसफाईले मन्त्रालयका सबै कर्मचारीलाई हौसला प्रदान गरेको बताउँदै आगामी दिनमा पनि सरसफाईलाई निरन्तरता दिने बताए ।
उनले मन्त्रालय मात्र नभई देशभरका मन्त्रालय अन्तर्गतका कार्यालयमा पनि सरसफाईलाई प्राथमिकता दिएर अगाडि बढ्ने उल्लेख गरे ।