काठमाडौँ । काठमाडौँको शान्तिवाटिकामा हवाई एम्बुलेन्सको माग गर्दै विगत एक महिनादेखि अनशन बसेका तेह्रथुमका दीपक सिलवालले आजदेखि अनशन तोडेका छन् ।
गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ र सिलवालबीच आज पाँच बुँदे सहमति भएसँगै उनले अनशन तोडेका हुन् । गृह मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा गृहमन्त्री रमेश लेखकले उनलाई जुस पिलाएर अनशन तोडेका हुन् ।
कार्यक्रममा गृहमन्त्री लेखकले सिलवालले उठाएको विषय गम्भीर र महत्त्वपूर्ण रहेको बताउँदै सहमति कार्यान्वयनमा मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिए । मन्त्री लेखकले सरकारको पनि ध्यानाकर्षण गराउने उद्देश्यका साथ अनशन बसेर सिलवालले लोकतन्त्रको असल अभ्यास गरेको भन्दै प्रशंसा गर्नुका साथैधन्यवाद दिएका थिए ।
गृहमन्त्री लेखकले अहिले सरकारले दिइरहेको सेवाले सबै ठाउँलाई समेट्न नसकिएको अवस्थामा त्यस्तो हुँदैन र सबै पीडामा रहेकाहरूको उद्धार गर्नुपर्छ भनेर उनले राखेको माग जायज भएको पनि बताए । उनले हवाई उद्धारसँग सम्बन्धित कार्यविधिलाई संशोधन गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
उक्त कार्यक्रममा गृह मन्त्रालयका सूचना अधिकारी तामाङले यसअघिको हवाई उद्धारको समीक्षा गर्दै आपत्कालीन हवाई उद्धारलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र गृह मन्त्रालयले आवश्यक स्रोत, साधन तथा प्रतिबद्ध संयन्त्रको व्यवस्थापन गरी थप प्रभावकारी बनाउनेलगायत पाँच बुँदे सहमति भएको जानकारी दिए ।
कार्यक्रममा एक महिना अनशन बसेका सिलवालले आफ्नो माग हवाई एम्बुलेन्स नै रहेको जानकारी दिँदै अहिलेको हवाई उद्धार प्रभावकारी नभएकोतर्फ गृह मन्त्री लेखकको ध्यानाकर्षण गराएका थिए । उनले हरेक प्रदेशमा एकरएक वटा हवाई एम्बुलेन्स राख्न जरुरी रहेको औँल्याए ।