काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारको खर्च सीमा निर्धारण गरेको छ ।
आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ६४ र स्थानीय तह निर्वाचन नियमावली २०७३ को ४० बमोजिम उम्मेदवारले मनोनयन पत्र दर्ता भएदेखि परिणाम घोषणा भएको अवधिसम्म उम्मेदवार खर्च गर्न पाउने रकमको सीमा निर्धारण गरेको हो ।
जसअनुसार महानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा सात लाख पचास हजार रुपैयाँ, उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा पाँच लाख पचास हजार रुपैयाँ, नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा चार लाख पचास हजार रुपैयाँ, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले जम्मा तिन लाख पचास हजार रुपैयाँ र जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा पचास हजार रुपैयाँसम्म खर्च गर्न सक्ने आयोगले जनाएको छ ।
त्यसैगरी महानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले जम्मा तिन लाख रुपैयाँ, उपमहानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले जम्मा दुई लाख पचास हजार रुपैयाँ, नगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले जम्मा दुई लाख रुपैयाँ र गाउँपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले जम्मा एक लाख पचास हजार रुपैयाँसम्म खर्च गर्न सक्ने गरी खर्चको हद निर्धारण भएको छ ।