काठमाडौँ । नेपाली कांग्रेसले काठमाडौँ महानगरपालिका–१६ को वडाध्यक्षमा देवेन्द्र पाठकलाई उम्मेदवार बनाउने भएको छ ।
नेपाली कांग्रेस काठमाडौँका अध्यक्ष कृष्णसबुज बानियाँले पाठकलाई उम्मेदवार बनाउने निर्णय भएको बताए । ‘पाठकजीलाई कामनपा १६ को वडाध्यक्ष उम्मेदवार बनाउने निर्णय भएको छ’, बानियाँले भने । पाठक सोही वडाको कांग्रेस सभापति समेत हुन् ।
मङ्सिर १६ गते हुने उपनिर्वाचन अन्तर्गत एमालेले पार्टीबाट लक्ष्मीरत्न तुलाधर, नेकपा (एकीकृत समाजवादी) बाट मीनबहादुर मानन्धरलाई उम्मेदवार बनाउँदैछ । एकीकृत समाजवादीका मानन्धरलाई नेकपा (माओवादी केन्द्र) को समर्थन छ । काठमाडौँ १६ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रोजिना श्रेष्ठ उम्मेदवार बनाउँदैछ ।