काठमाडौं । श्रीलंकाको लागि नेपाली राजदूतमा पूर्णबहादुर नेपालीको नाम सिफारिस भएको छ ।
मन्त्रिपरिषद् बैठकले श्रीलंकाका लागि नेपाली राजदूतमा नेपालीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
बिहीबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कपिलवस्तुका नेपालीलाई श्रीलंकाको राजदूतमा सिफारिस गरेको हो । संसदीय सुनुवाइबाट अनुमोदन भएमा उनको नियुक्ति हुन्छ ।
यसअघि श्रीलंकाको लागि नेपाली राजदूतमा रामकृष्ण भट्टराईको नाम सिफारिस भएको थियो । तर,आवश्यक शैक्षिक योग्यता नपुगेपछि उनको नाम संसदीय समितिबाट अस्वीकृत भएको थियो । भट्टराई र नेपाली दुवै नेपाली कांग्रेसको कोटाबाट सिफारिस भएका हुन् ।
यता राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा सुरेश आचार्य नियुक्त भएका छन् । आचार्य नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन् । आयुक्तहरूमा गगन विष्ट र दुर्गा भण्डारीलाई नियुक्त गरिएको छ । आचार्य नेपाली कांग्रेस तथा विष्ट र भण्डारी नेकपा एमालेको कोटाबाट नियुक्त भएका हुन् ।
सभामुख देवराज घिमिरे नेतृत्वको सिफारिस समितिले गरेको सिफारिसका आधारमा सरकारले यो निर्णय गरेको हो । सिफारिस समितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बाला अधिकारी सदस्य थिए ।
आयोगमा एक प्रमुख सूचना आयुक्त र २ जना सूचना आयुक्त रहने कानुनी व्यवस्था छ । जसमा एकजना महिला अनिवार्य गरिएको छ ।