काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले अव्यवस्थित शहरीकरण नेपालको चुनौतीको विषय बनेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले प्राकृतिक घटनाहरू मात्र नभई पछिल्लो समय अव्यवस्थित शहरीकरण, अनियन्त्रित र अनियोजित पहाडी भेग र नदी किनारको अतिक्रमण, खराब इन्जिनियर संरचनाहरू र अपर्याप्त डिजाइन मापदण्डहरू र निर्माण प्रविधिको कारणले पनि समस्या व्यहोरिरहेको बताए ।
उनले नेपाल बारम्बार भूमकम्पीय प्रकोपको चपेटामा परेको उल्लेख गर्दै भारी वर्षा र भारी हिमाली भूगोलले बाढी र पहिरोको जोखिम बढाएको बताए ।
उपप्रधानमन्त्री सिंहले हालैका वर्षहरुमा जलवायु परिवर्तनको प्रभावले हिमालयको हिउँ बढी पग्लिएको, हिमताल फुट्ने लगायतका विपद्हरु भोग्नुपरिरहेको बताए ।
उनले भने, ‘हामीले प्राकृतिक घटनाहरू मात्र होइन तर पछिल्लो समय अव्यवस्थित शहरीकरण, अनियन्त्रित र अनियोजित पहाडी भेग र नदी किनारको अतिक्रमण, खराब इन्जिनियर संरचनाहरू र अपर्याप्त डिजाइन मापदण्डहरू र निर्माण प्रविधिको कारणले पनि वास्तवमै सबैभन्दा बढी पीडित छौँ ।’
कोभिड–१९ को विश्वव्यापी प्रभावसँगै बाढी र पहिरो लगायतका विपत्तिले १० वर्षमा नेपालको राष्ट्रिय अर्थतन्त्रमा ठूलो असर पारेको बताए ।