काठमाडौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गणतन्त्र नायक सम्मानबाट सम्मानित गरिएको छ । गणतन्त्र सेनानी कोषले उनलाई सो सम्मान गरेको हो ।
देशबाट सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्न दश वर्षे जनयुद्धको पहल, थालनी र नेतृत्व गर्दै जनआन्दोलन र संविधानसभाको निर्वाचन हुँदै गणतन्त्र घोषणा, गणतान्त्रिक संविधान निर्माण र गणतान्त्रिक सरकारको नेतृत्व गर्दै मुलुकलाई यहाँसम्म ल्याइपुर्याउन कुशल नेतृत्व गरेकोमा गणतन्त्र नायकको सम्मान प्रदान गरिएको कोषले जनाएको छ ।
कोषले यो वर्षदेखि गणतन्त्र स्थापनाका लागि योगदान गर्ने सेनानीहरुलाई गणतन्त्र सेनानी सम्मान प्रदान गर्न सुरु गरेको हो । कोषले जनमुक्ति सेनाका डेपुटी कमान्डरहरु नन्दकिशोर पुन ‘पासाङ’, वर्षमान पुन ‘अनन्त’, जनार्दन शर्मा ‘प्रभाकर’ र चक्रपाणि खनाल ‘बलदेव’ लाई गणतन्त्र सेनानी सम्मान प्रदान गरेको छ ।
कोषले बागमतीका १३ जिल्लाबाट एकरएक जना र सास्कृतिकर्मीलाई पनि सम्मान गरेको छ । बागमतीबाट सुरु गरिएको गणतन्त्र सेनानी सम्मानलाई देशब्यापी बनाउदै लैजाने कोषका अध्यक्ष सरल सहयात्रीले जानकारी दिए ।