दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापित गर्न लागि परेको बताउनु भएको छ । सुशासन, पारदर्शिता कायम राख्न भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापित गर्न प्रदेश सरकार लागि परेको बताउनु भएको हो ।
गैरसरकारी संस्था महासंघ नेपाल लुम्बिनी प्रदेश समितिले दाङको लमहीमा बिहिवार आयोजना गरेको प्रदेशस्तरीय नागरिक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सुशासन कायम भए भ्रष्टाचार अन्त्य हुने बताउदै सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनिकरण गर्न पाँच बर्षे रणनीतिक योजना कार्यान्वयनमा लगिएको बताउनु भयो ।
सरकारको नेतृत्व गरेकै दिन भ्रष्टाचार बिरुद्ध रणनीतिक योजना निर्माण गर्ने निर्णयमा हस्ताक्षर गरे । अहिले त्यो योजना तयार भएर कार्यान्वयनमा गएको छ । उहाँले भन्नुभयो - सरकारले नागरिकमा बढ्दै गएको निरासालाई चिर्न सुशासन प्रबर्द्धन र भ्रष्टाचार बिरुद्धका अभियानलाई प्राथमिकता दिएको छ । नेतृत्वमा रहेकाहरुलाइ नै केन्द्रीत गरेर आचारसंहिता निर्माण गरेर लागू गरेका छौं । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री, मन्त्रीहरुलाइ आचारसंहिताको निगरानी छ ।
प्रदेश सरकारले गर्ने काम प्रति नागरिकहरु गुनासो गर्न पाउने र त्यसको सुनुवाइ गर्ने संयन्त्रको विकास गरिएको भनाइ उहाँको छ । गुनासा पेटिकामा प्राप्त सुझाव तथा समस्याहरू सम्बोधन गर्ने कार्यलाई निरन्तरता दिइरहेका छौं । यसले जनताको सरकारप्रतिको विश्वास बढ्ने उहाँले भन्नुभयो-जनप्रतिनिधि र कर्मचारीले गर्ने कामहरुलाइ पनि गुनासो मार्फत अघि बढाउन सक्नुहुन्छ ।
मुख्यमन्त्री आचार्यले प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूलाई आचारसंहितामा बाँधिएको र खर्च कटौतीका लागि विशेष पहल गरिएको बताउनु भयो । भ्रष्टाचार नियन्त्रण गर्न सबै सरोकारवालाहरूको सहयोग आवश्यक रहेको भनाइ उहाँको छ । भ्रष्टाचार रोक्न सबै नागरिक, संघसंस्था र सरकारी निकायले एकैसाथ हातेमालो गर्नुपर्छ । यसले प्रदेशमा सुशासनको सुनिश्चितता गर्न सकिन्छ । उहाँले भन्नुभयो-भ्रष्टाचार बिरुद्धको अभियानमा सबै संगसंगै अगाडि बढ्न जरुरी छ ।
प्रदेश सरकारले जनमुखी कानून निर्माणलाई विशेष प्राथमिकता दिएको बताउँदै दलित सशक्तीकरण विधेयक, अपांगमैत्री कानून बनाउन आवश्यक विधेयक अघि बढाउने प्रतिबद्धता जनाउनु भयो । गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष जितकुमारी बेल्वासेको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा नागरिक सम्मेलनको उद्घाटन गरिएको थियो ।
सम्मेलनको तर्फबाट मुख्यमन्त्री आचार्यलाई घोषणापत्र समेत हस्तान्तरण गर्दै कार्यान्वयन गर्न आग्रह गरिएको छ । मुख्यमन्त्री आचार्यले सम्मेलनले उठाएका सवालहरुलाइ सम्बोधन गरिने बताउनु भएको थियो ।