काठमाडौं । मनोवैज्ञानिक थ्रिलर शैलीमा निर्माण भएको नेपाली चलचित्र ‘द ब्ल्यू लाइट’ को पहिलो झलक सार्वजनिक गरिएको छ। चलचित्रकी मुख्य अभिनेत्री बेनिशा हमालको जन्मदिनको अवसरमा निर्माण टिमले पहिलो पोस्टरसहित झलक दर्शकमाझ ल्याएको हो। मंसिर १२ गते रिलिज हुने यस सिनेमाको टिजरमा बुवाको मृत्युको सपना देखेर डराइरहेकी छोरी र उनलाई सान्त्वना दिइरहेका बुवाको दृश्यमार्फत कथा सुरु हुन्छ ।
त्यसपछि आत्मबल बढाउन हतियार बोकेर हिंडिरहेकी युवती र एक अर्की युवतीबीचको डरको द्वन्द्व प्रस्तुत गरिएको छ, जसले दर्शकलाई त्राससँगै जिज्ञासामा पार्छ। टिजरले सिनेमा साइकोलोजिकल थ्रिलर भएको स्पष्ट सङ्केत गर्छ। निलो पृष्ठभूमिमा प्रस्तुत मुख्य पात्रहरू बेनिशा हमाल, अर्पण थापा र सृष्टि श्रेष्ठ तनावपूर्ण मुद्रामा देखिन्छन् । सृष्टिका हातमा रगतले लतपतिएको बन्चरोले घटनाको गम्भीरता दर्शाउँछ ।
‘बलिदान’ चलचित्रका लेखक तथा मुख्य सहायक निर्देशक बलिराम चौहान (ग्याट्स्वी) को निर्देशनमा बनेको यो पहिलो फिल्म हो । स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा बेनिशा, अर्पण, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी लगायत कलाकारको अभिनय देख्न पाइनेछ । बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।
हालसम्म निर्माण पक्षले कथावस्तु र पात्रको भूमिकाबारे खुलासा नगरेको भए पनि निर्देशक चौहानले विस्तारै सबै विवरण सार्वजनिक गर्ने बताएका छन् । चलचित्रका सह-निर्मातामा भोलानाथ कटुवाल र रमन ग्रे छन् भने कार्यकारी निर्मातामा नरेन्द्र मैनाली र बेनिशा हमाल रहेका छन्। छायांकन मैनालीले नै गरेका हुन् । चलचित्रको प्रोडक्सन डिजाइन रेलिजा श्रेष्ठ र निर्माण नियन्त्रक दिलीप पन्त रहेका छन् ।