अमेरिका । हरितालिका तीजको विशेष उपहारस्वरूप Reporters Club America ले नारी शक्ति, संस्कार र उमंगको पर्वको अवसरमा “गन्नु बिन्ती गर्न जाम” गीत सार्वजनिक गरेको छ।
गीतमा चर्चित गायिका कोमल ओलीको स्वर रहेको छ भने शब्द लोकराज अधिकारीले लेखेका छन् । सङ्गीत बिपिन घिमिरेको रहेको यस गीतलाई किशन रेग्मीले निर्देशन गरेका हुन् । छायांकन स्थल टेक्सस, अमेरिका चयन गरिएको छ, जसमा स्थानीय दृश्य तथा प्रवासमा रहेका नेपालीहरूको सहभागिता देख्न सकिन्छ ।
निर्देशक रेग्मीका अनुसार गीतले तीजको सांस्कृतिक महत्व, नारीको उल्लास र नेपालीपनको भावना उजागर गर्ने उद्देश्य राखेको छ। यसमा महिलाहरूको पारम्परिक पोशाक, नृत्य शैली र उत्सवको माहोललाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ ।
गीत सार्वजनिक कार्यक्रममा Reporters Club America का अध्यक्ष समेत रहेका किशन रेग्मीले भने—"यो सिर्जना केवल मनोरञ्जनका लागि मात्र नभई हाम्रो संस्कृति र परम्परा संरक्षणको अभियान पनि हो ।"
आजदेखि सार्वजनिक गरिएको यो गीतले विदेशमा रहेका नेपाली समुदायलाई पनि तीजको रमाइलोमा सहभागी गराउने अपेक्षा गरिएको छ। आयोजकले यसलाई युट्युबमार्फत उपलब्ध गराइएको जानकारी दिएका छन् ।