काठमाण्डौ । लोकप्रिय गायक मोतिराज खनाल र शान्तिश्री परियारको सुमधुर आवाजमा सजिएको ‘बिर्सु कसरी’ गीत सार्वजनिक भएको छ । नवराज गौतमको जीवनमा घटेको पीडादायी प्रेमकथामा आधारित यो गीतले प्रेम, अस्वीकार र त्यसबाट उत्पन्न गहिरो मानसिक अवस्थालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ ।
समाजको कठोर यथार्थ उजागर गर्दै गीतले दर्शक-श्रोताको मन छोइरहेको छ । गीतका शब्द स्वयं नवराज गौतमले कोरेका हुन् भने संगीत संयोजन मोतिराज खनालकै रहेको छ ।
महेन्द्र भण्डारीको एरेन्जमेन्ट, सुमन रानाको रेकर्डिङ र कुमार रानाको मिक्सिङले गीतलाई अझ प्रभावशाली बनाएको छ । मारुनी रेकर्डिङ स्टुडियोमा तयार पारिएको यो गीत मोतिराज खनालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । भिडियोतर्फ नवराज गौतम र सरिता ढुंगाना मुख्य भूमिकामा देखिएका छन् ।

भगवान भण्डारी, चन्दा बिडारी र कमला भुजेल लगायतका कलाकारहरूको सशक्त अभिनयले कथालाई जीवन्त बनाएको छ । निर्देशन देबेन्द्र कुवरको रहेको छ भने छायांकन दीपक गिरीले गरेका हुन् ।
सार्वजनिक भएलगत्तै भिडियो युट्युब, टिकटक र फेसबुक रिल्समा तीव्र रूपमा भाइरल भइरहेको छ । ‘बिर्सु कसरी’ केवल एउटा गीत मात्र नभई प्रेम, पीडा र सामाजिक यथार्थको संवेदनशील प्रस्तुति हो ।
मोतिराज खनालका लोकप्रिय लोक तथा भजन गीत र शान्तिश्री परियारका हिट गीतहरूको प्रभावले समेत यस गीतलाई थप आकर्षक बनाएको छ । सामाजिक सञ्जालमा हजारौं प्रयोग र प्रतिक्रिया प्राप्त गर्दै गीतले व्यापक दर्शक-श्रोतासम्म आफ्नो पहुँच विस्तार गरिरहेको छ ।