काठमाडौं। आगामी जेठ १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘रोल नं १’ का कलाकारहरूले यो सिनेमाले बालमनोविज्ञान र बालबालिकाको स्वतन्त्र रुचिको गम्भीर विषय उठान गरेको बताएका छन्। बालबालिकालाई कक्षामा सधैँ प्रथम हुन अभिभावकले दिने मानसिक दबाब र त्यसले उनीहरूको जीवनमा पार्ने प्रभावलाई चलचित्रमा मुख्य कथा बनाइएको छ। ‘प्रत्येक विद्यार्थीको कथा’ स्लोगन रहेको यस चलचित्रले प्रथम हुने व्यक्ति मात्रै विद्वान र अरू सबै मुर्ख हुन् भन्ने नेपाली समाजको संकुचित बुझाइको विरुद्धमा आवाज उठाउने कलाकारहरूको भनाइ छ।
चलचित्रका मुख्य अभिनेता मुकुन भुसालका अनुसार अभिभावकहरूले आफूले पूरा गर्न नसकेको सपना आफ्ना सन्तानमार्फत जबरजस्ती पूरा गराउन खोज्दा बालबालिकामा नकारात्मक असर परिरहेको छ। गरिबीबाट उम्किने उपाय शिक्षा नै हो भन्ने बुझाइका कारण अभिभावकले सकारात्मक सोच राखेर दबाब दिए पनि त्यसको परिणाम प्रत्युत्पादक हुने उनको तर्क छ। यद्यपि, चलचित्रले पढ्नै पर्दैन वा मेहनत गर्नु पर्दैन भन्ने गलत सन्देश नदिने बरु जीवनमा सफल हुन कसरी र के पढ्ने भन्ने कुरा प्रस्ट पार्ने भुसालले बताए।
अर्का अभिनेता सुशांक मैनालीले यो चलचित्र बाबु र छोराबीचको अन्तरद्वन्द्व र संघर्षको कथा भएको उल्लेख गरे। अरूको दबाबमा पढेको विषय दिमागमा धेरै समय नरहने र त्यस्तो क्षेत्रमा लामो समय टिक्न नसकिने भन्दै उनले बच्चाको इच्छा पहिचान गरेर सुरुमै सही मार्गदर्शन गर्नुपर्नेमा जोड दिए। अहिले सरकारले कक्षा पाँचसम्म परीक्षा लिनु हुन्न भनिरहेको सन्दर्भ र चलचित्रको विषय मिल्नु एउटा सुखद संयोग मात्र भएको भन्दै उनले चलचित्रले कुनै सरकारी एजेन्डा भने नबोकेको प्रस्ट पारे।
यसैगरी, अभिनेत्री रेणु योगीले चलचित्र पूर्ण रूपमा बालमनोविज्ञानमा आधारित रहेको र यसले बालबालिका कति संवेदनशील हुन्छन् भन्ने यथार्थलाई प्रस्ट पार्ने बताइन्। विनोद पौडेल र जान्वी पौडेल निर्माता तथा छत्रमाया गिरी र रमेश चौलागाईं सह-निर्माता रहेको यस चलचित्रलाई जोन योञ्जनले निर्देशन गरेका हुन्। महेश दवाडीको लेखन र शिवराम श्रेष्ठको छायांकन (डीओपी) रहेको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारीका साथै बालकलाकारहरू निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ मुख्य भूमिकामा देखिँदैछन्।