Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मिथिलामा छठपछि सनेसको चटारो


१०, मंसिर २०८०
  • 164
    SHARES
  • मिथिलामा छठपछि सनेसको चटारो

    महोत्तरी । छठपर्व सकिएको एक साता हुनै लागेको छ । पर्व सकिए पनि मधेसको प्राचीन मिथिला क्षेत्रमा अझै छठको ‘सनेस’ (कोसेली)को मौसम कायमै छ । छठ मनाइएका सबैजसो घरमा सनेसका रुपमा ‘ठकुवा’ (छठको मुख्य प्रसाद मानिने गहुँको पिठो र सख्खर मुछेर बनाइने मिष्ठान्न परिकार) पाकिरहेका छन् । 

    छठ सकिएसँगै मिथिलाका गृहिणीलाई  सनेसका लागि ठकुवा पकाउने र आफन्त कहाँ पठाउने चटारो सुरु हुन्छ । पर्वको सनेस विवाहित छोरीचेली, इष्टमित्र, मित/मितिनी र आफन्तलाई पठाउने पुरानो स्थापित परम्परा हो । अहिले मिथिलानी (मिथिलाका नारी)लाई ठकुवा, भुसुवासहितका परिकार पकाउन र सम्बन्धित कहाँ पठाउन भ्याइनभ्याइ छ । 

    “धान थन्क्याएर सकिएको छैन, हिउँदे बाली लगाउने चटारो पनि छ, तर अहिले यी कामका बीच नै छठको ‘सनेस’ पकाउने र पठाउनु पर्दा भ्याइनभ्याइ छ”, महोत्तरीको बर्दिबास–१२ विजलपुराकी गीतादेवी महतो भन्नुहुन्छ, “छोरीको घरमा त पठाइयो, अब फुपू र मितकहाँ पठाउन बाँकी छ ।”

    मिथिलामा छठ र तीलासक्रायत (माघेसङ्क्रान्ति) पर्वको ‘सनेस’ कुटुम्बजन, मित÷मितिनी र अत्यन्त नजिकी इष्टमित्र कहाँ पठाउने आम परम्परा छ । छठ सकिएलगत्तै पठाइने सनेसमा ठकुवा, भुसुवा, पिरुकिया र केरा हुने गर्छ ।

    यसरी पठाइने सनेस छठ नमनाइने परिवारमा पर्व सकिएलगत्तै र अन्य कहाँ एक/दुई सातासम्म लगाएर पठाउने चलन छ । पकाउने काम गृहिणीको भए पनि सनेस पुर्‍याउन भने बाबु, काका, दाजुभाइ जाने गर्छन् । यसरी पठाइने सनेसमा छठमा सूर्यदेवलाई अघ्र्य दिँदा देखाइएको प्रसाद सामग्री मिसाइएको हुन्छ । 

    “यो परम्परा कोसेलीमात्रको नभएर मुख्य चाडबाडपछि आपसी भेटघाटको अवसर पनि हो”, बर्दिबास–१३ स्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक भरत यादव भन्नुहुन्छ, “यसमा आशिष पुर्‍याउने र सम्बन्धको प्रगाढता पनि जोडिएको हुन्छ ।” यो चलन सांस्कृतिक, सामाजिक र पारिवारिक सौन्दर्य पनि रहेको यादवको भनाइ छ ।

    मिथिलामा छठ र तिलासक्रायत पर्व सकिएलगत्तै ‘सनेस’ को नाउँमा भेटघाटको निरन्तरता केही दिन चल्ने गर्छ । पर्वको ‘सनेस’ पुग्न ढिलो हुँदा त खासगरी छोरीचेली र मित/मितिनीले बिर्सेकी भन्ने खुल्दुली नै लाग्ने गरेको पाका मैथिल बताउँछन् । समयक्रमले अचेल कामको विविधता बढ्दै जाँदा पहिलेपहिले जस्तो घरपरिवेशको झैँ गृहस्थ जीवन फेरिएको छ । कामका लागि टाढाटाढा जानुपर्दा पर्व सकिएलगत्तै युवापुस्ता घरमा नहुँदा सकीनसकी यो परम्परा बुढापाकाले धान्नुपरेको औरही नगरपालिका–७ का ७० वर्षीय मोहन महतो बताउनुहुन्छ ।

    पर्व सकिएलगत्तै युवापुस्ता आ–आफ्ना जिम्मेवारीमा फर्किएपछि ‘सनेस’ पुर्‍याउने जिम्मेवारी आफ्नो नछुटेको भङ्गाहा–४ थारुटोल बनराका ७२ वर्षीय रामधारी सिंह थारुको भनाइ छ । 

    “पर्व सकिएलगत्तै तीन जना छोराहरु काममा गए”, भङ्गाहा–४ थारुटोल बनराका ७२ वर्षीय रामधारी सिंह थारुले भन्नुभयो,“सनेस लिएर मै जानुपर्ने हुन्छ ।” यो परम्परा कामको चापले बिस्तार हराउँदै जाने हो कि भन्नेमा उहाँ चिन्तित हुनुहुन्छ । “घरगृहस्थीमा युवापुस्ता छैनन्, सबैजसो काममा बाहिर (अन्यत्र) जान्छन्, अब भन्नोस् न, हामीपछि यो के थेगिएला ?”, थारु भन्नुहुन्छ ।   

    “पवनी (पर्व) सकिएकै दिन सानो छोराले सनेस छोरीकहाँ पुर्‍याएर आयो”, ठकुवा पकाउन र भुसुवा बटार्न व्यस्त रहनुभएकी गौशाला–१० की शीलवती महतो भन्नुहुन्छ, “अब नन्द र साथीको घरमा जान बाँकी छ, त्यसैमा लागेकी छु ।” पर्वमा घरका परिवारजन, छिमेकी र आफन्तहरुलाई समेत खुवाइने यी परिकार यसपालि मङ्सिरभरि नै  खाजा खाइने उहाँको भनाइ छ ।

    खासगरी अब जाडो बढ्दै जाँदा सख्खर, घिउ र गहुँको पिठोबाट बन्ने परिकार खाँदा शरीर तात्ने, चिसोका विकार ठीक हुने र काममा फुर्ति आउने मैथिल जनविश्वास छ । यसै विश्वासको परम्पराले पनि बढ्दो जाडोबीच ठकुवा, भुसुवा खाने, खुवाउने प्रचलन मैथिल संस्कृतिको अङ्ग नै बनेको भङ्गाहा नगरपालिकाका उपप्रमुख शान्तिसिंह थारुको भनाइ छ । 

    अहिले यस क्षेत्रमा आफ्नो सावगासअनुसार सबैजसो घरमा ठकुवा, भुसुवा बनाउन लागेका छन् । सनेस पठाउने स्थापित परम्परा र आफ्नै घरको खानपिनमा यो परिकार परेपछि मिथिलामा छठ सकिएका केही दिनसम्म ठकुवा, भुसुवाको मौसम हुने गरेको यहाँका बुढापाका बताउँछन् ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend