काठमाडौँ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व सांसद विशाल भट्टराईले प्रचण्ड सरकारको एक वर्ष असफल भएको दाबी गरे । उनले भने,‘सरकारको एक वर्षको मुल्यांकन गर्दा जनतामा उत्साह सिर्जना गर्ने कुरा प्रधान हो, तर यो सरकारले उत्साह फैलाउन सकेन । एक वर्षको दौरानमा जनतामा निराशा फैलियो । एक जना उटपट्याङ मान्छेले म पूरानो व्यवस्था फर्काउँछु भन्छ । तर, सरकार हेरेरमात्र बस्छ ।’
अहिले मुलुकको अर्थतन्त्र तहसनहस रहेको उनको दाबी छ । उनले भने,‘कर्मचारीलाई तलब खुवाउन आन्तरिक वा बाहृय ऋण लिनुपर्ने अवस्था देखिएको छ । राजश्वको लक्ष्यभन्दा कम रकम उठेको छ । सरकार निर्माण व्यवसायीलाई भुक्तानी दिनसक्ने अवस्थामा छैन् । आन्तरिक रुपमा अर्थतन्त्र तहसनहस छ । सहकारी काण्डमा ठूला मान्छे मुछिएका छन् । बचतकर्ताहरु न्यायको भीख खोज्दैछन् । अहिले ग्यालेक्सी फोर–के बन्द भयो भन्ने आएको छ । अढाई वर्षको अवधिमा यो देशमा एउटा पनि नयाँ परियोजना सुरु भएको छैन् ।’
उनले सुशासनको क्षेत्रमा पनि सरकार पूर्ण रुपमा असफल भएको दाबी गरे । उनले भने,‘सुशासनको क्षेत्रमा सरकारले के काम गर्यो त ? ज्यान मारेकाहरु आममाफी दिईयो । तर, सर्वोच्च अदालतले न्याय दियो । संक्रमणकालिन न्याय टुँगो लगाउनको लागि अहिले के देखिँदैछ छ भने, हिजो मानवताविरुद्धका गम्भीर अपराधमा पनि उन्मुक्ति दिन खोजिँदैछ। एमाले गम्भीर अपराधमा उन्मुक्ति दिन नहुने पक्षमा छ । टिआरसी टुँगो लगाउने कुरामा एमाले पीडित र न्यायको पक्षमा उभिन्छ ।’
प्रधानमन्त्री प्रचण्डको एका वर्षमा सफलताको कुरा गर्दा सत्ता गठबन्धन एक वर्षसम्म जोगाउनु नै मुख्य सफलता रहेको उनको दाबी छ । उनले भने,‘यो सरकारको सकारात्मक काम गठबन्धन जोगाएको छ । बढा सुरक्षित साथ जोगाएको छ । एमाले सरकार ढाल्न लाग्दैन् । हामी सरकार बनाउने वा गिराउने पक्षमा छैनौं ।’ उनले सरकारले विभिन्न काण्डको कुरा गरेर सस्तो लोकप्रियता हाँसिल गर्न खोजेको र ती काण्डमा कतै एमाले भेटिन्छ की भनेर पाना पल्टाएपनि कतै नभेटेको टिप्पणी गरे ।
उनले भने,‘अहिलेको सरकारलाई खुलेआम चूनौति छ, एमाले कतै मुछिएको छ भने सरकारले कारबाही गर्नुपर्यो नि त । ती सबै फण्डा थिए । एमालेको सरकारले राम्रो काम गरेको छ । बदनामी गर्ने काम भयो । जति पनि फाइल खोलिए, हरेक पानामा अनि शब्द–शब्दमा सरकारले त एमाले खोजेको हो । जता पल्टायो सत्ता गठबन्धन मान्छे देखिन्छन् । माओवादी देखिन्छन् । अहिले गृहमन्त्रीको हुँकार पनि बन्द भयो । अहिले सल्याकसुलुक् हरायो ।’