देउखुरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले सर्वाेच्च अदालतले गरेको एउटा फैसलाका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको उजुरी आउदा पनि स्टिङ्ग अप्रेसन गर्न नसकेको बताउनुभएको छ ।
उहाँले पिडितहरु मालपोत, यातायात जस्ता कार्यालयमा पैसाको लेनदेन भइरहेका जस्ता उजुरी लिएर आफु कहाँ आउने गरेपनि स्टिङ्ग अप्रेसन गर्न नसकेको बताउनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको मुरियामा आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय भ्रष्टाचार नियन्त्रण सुशासन प्रबद्र्धन सम्वन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले स्टिङ्ग अप्रेसनलाई प्रभावकारी बनाउन नसकिएको खुलासा गर्नुभयो ।‘
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पैसा दिएर, खुवाएर स्टिम अप्रेसन गर्न मिल्दैन भनेर सम्मानीत सर्वाेच्च अदालतबाट फैसला भएको छ । त्यो कारणले गर्दा अहिले मालपोत, यातायात कार्यालयमा कसैले खुलेयाम घुस खुवाईराखेको छ भने पनि सोझै गएर अप्रेसन गर्ने अवस्था आउदैन’ उहाँले भन्नुभयो ।
‘निवेदक स्वयमले आफै पैसा दिन सक्दैन । अख्तियारमा आएर के भन्नुहुन्छ भने हामीलाई पैसा दिनुस । हामीसंग पैसा छैन । हामी खुवाउछौं । तपाई पकडिदिनुस भन्छन् भन्न त । तर, अहिले हामीलाई कानुनी रुपमै त्यो रोकिएको छ ।’ यस्तै उनले अनुचितको कारबाही गर्ने प्राब्धान अख्तियार संग नरहेको बताए ।‘यो संविधान अघि अनुचितको कारबाही गर्ने अधिकार अख्तियारलाई थियो ।
अहिले नयाँ संविधान आइसकेपछी त्यो हटाईयो’उहाँले भन्नुभयो ,‘अनुचितको कारबाहीको दुरुपयोग भयो भनेपछी संविधानबाटै हटाईयो । त्यसकारण हामीले हेर्दैैनौं । कतिपय प्रक्रियागत त्रुटीहरु, भ्रष्टाचारको तथ्यनै छैन । त्यस्ता केसलाई हामीले कारबाही गर्न सक्दैनौं ।’
आयोगले आयोजना गरेको कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी सहित अन्य मन्त्रालयका मन्त्री, प्रमुख सचिव, सचिवहरु, स्थानीय तहका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत, विद्यालयका प्रधानाध्यापक लगायत नागरिक समाज तथा सोकारवाला निकायका प्रमुखहरुको सहभागीता रहेको थियो ।
अख्तियारमा लुम्बिनी प्रदेश सरकारका बारेमा तीनसय २२ वटा उजुरी परेका छन् । जसमध्ये एक सय ६२ वटा र एक सय ६० वटा उजुरी छानविनकै क्रममा रहेको जानकारी गराइएको थियो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।‘विकासलाई नरोक्नेगरेर भ्रष्टाचारलाई निवारण गर्नुपर्छ’उहाले भन्नुभयो ,‘अहिले अख्तियारमा उजुरी पर्नेवित्तिकै काम रोक्ने प्रवृत्ति छ । यसले हामीलाई कहाँ पुर्याउँछ उहाले प्रश्न गर्नुभयो ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रमुख राजेन्द्रकुमार पौडेलले र आयोगका प्रवक्ता नरहरी घिमिरेले प्रदेश स्तरमा र समग्र देशमा आयोगमा प्राप्त भएका उजुरी, सुझावहरुको विवरण प्रस्तुत गर्नुभएको थियो।