काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने शिक्षामन्त्री सुमना श्रेष्ठको कदम सकारात्मक भएको बताएका छन् ।
बुधवार आयोगको प्रतिवेदन सार्वजनिक भएपछि आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नहुने अनि कार्यान्वयन त हुँदै नहुने प्रवृत्तिमा बिचमा प्रतिवेदन सार्वजनिक गर्नु आफैँमा सकारात्मक भएको बताए ।
उनले भनेका छन्, प्रतिवेदनले उजागर गरेका सम्बन्धन, भर्ना, सिट, शुल्क लगायतका कतिपय विषयमा चिकित्सा शिक्षा ऐन नै बनेर आयोगमार्फत कार्यान्वयनको चरणमा छन् त्यसलाई थप प्रभावकारी बनाउनु पर्नेछ ।
यससँगै प्रतिवेदनले आधार र कारण खुलाएरै जसजसलाई कारबाहीको सिफारिस गरेको छ त्यो सिफारिस कार्यान्वयनको दिशामा अगाडि बढ्छ भन्ने विश्वास छ ।
उनले शिक्षामन्त्रीको यो प्रयासमा आफ्नो साथ रहने प्रतिबद्धता जनाएका छन्। शिक्षा मन्त्रालयले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग २०७४ को प्रतिवेदन ६ वर्षपछि सार्वजनिक गरेको हो ।
आयोगले त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपतिहरू हीराबहादुर महर्जन, तीर्थ खनिया, रजिस्ट्रार डिल्ली उप्रेती, रेक्टर सुधा त्रिपाठी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त लोकमानसिंह कार्की लगायतमाथि कारबाहीको सिफारिस गरेको थियो।