काठमाडौं । प्रतिनिधि सभाको बैठक सरेपछि नेपाली कांग्रेसका सांसदबीच छलफल जारी रहेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने अडान राखेको छ ।
कांग्रेसले निरन्तर अवरोध गरेपश्चात संसदमा सहकारीको रकम हिनामिनाबारे आफूमाथि लागेको आरोपबारे गृहमन्त्री लामिछानेले जवाफ दिन पाएका छैनन् ।
कांग्रेसले संसद् अवरोध गरे एमाले प्रतिवाद गर्ने बुधबार संसदीय दलको बैठकमा केपी शर्मा ओलीले जानकारी गराएका थिए । बिहीबारको बैठकमा गृहमन्त्री लामिछानेले बोल्न पाउनुपर्ने र लामिछानेलाई संसदमा बोल्न नदिए एमाले बोल्ने चेतावनी दिएपछि कांग्रेसले लामिछानेलाई बोल्न दिन लचिलो बनेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सदनमा बोल्न दिन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।
बिहीबार बिहान सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेसँग बालुवाटारमा कुराकानी गरेपछि प्रधानमन्त्री दाहालले कांग्रेस नेताहरूलाई उक्त सन्देश पठाएका छन् ।
बिहीबार संसद् भवनमा चलिरहेका अनौपचारिक छलफलहरूमा दलहरू उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्बोधनगरेपछि सदनको बैठक सुचारू गर्ने र सहकारीका समग्र समस्या समाधान गर्नका लागि संसदीय समिति गठन गर्नेमा करिब सहमतिमा पुगेका छन् ।