सिन्धुपाल्चोक । नेपाली कांंग्रेसकी केन्द्रीय सदस्य डा.डिला सग्रौलाले सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन असम्भव रहेकाले यो कर्मकाण्डीमा सिमित हुने दाबी गरेकी छिन् ।
उनले वर्तमान सरकार कर्मकाण्डी प्रवृत्तिमा लागि परेको पनि बताईन । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ ले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै डा.संग्रौलाले नीति तथा कार्यक्रमले अहिलेको अर्थतन्त्र सुधार्न नसक्ने ठोकुवा गरिन ।
नीति तथा कार्यक्रममा आम्दानीका दायरा विस्तार गर्न सकेको छैन । राजस्व प्रशासन सुधारतर्फ सरकारको कुनै ध्यान गएको देखिँदैन। कमजोर धरातलमा रहेको सरकारले समग्र शासन प्रणालीमा सुधार गर्न नसक्ने नेता संग्रौलाको भनाइ थियो ।
पुर्व सासंद समेत रहेकी सग्रौलाले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गिरीबन्धु टी इस्टेटको जग्गाका सट्टापट्टा गर्न मिल्ने निर्णय गरेर नीतिगत भ्रष्टाचार गरेकाले अनियमिततामाथि छानबिन गर्न माग गरिन ।
वर्तमान सरकार कर्मकान्डी र कागजी प्रक्रिया पुर्याउन मात्रै लागि परेको बताउँदै उनले सरकारले देश र जनताको पक्षमा काम गर्न नसक्ने बताईन । ‘एमाले, माओवादीलगायतको सरकार नागरिकप्रति उत्तरदायी छैन् । सत्ता टिकाउने खेलमा मात्रै सिमित छ ।
देशभर अनियमितता र व्यथिति मौलाएको छ । सहकारीको समस्या दिनप्रतिदिन बढ्दै गएको छ । गृहमन्त्री आफैं सहकारीको रकम अपचलन गरेको आरोप खेपिरहेका छन् । तर सरकार भने ढाकछोपमा लागिपरेको छ,’ डा.संग्रौलाले भनिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि आरोप लागेपछि पदमा बसिरहनु नैतिक रुपले नहुने भन्दै उनले राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्ने सग्रौलाले बताइन् ।
नेपाली काङ्ग्रेस नागरिकको हितको लागि सधैं काम गर्ने पार्टी भएकाले नागरिकको समस्यालाई समाधान गरेर अगाडि बढ्नुपर्नेमा पार्टीको सबै तह सक्रिय बन्न सुझाव दिइन ।
कांग्रेसका अगुवा कार्यकर्ता भेटघाट एवम अन्तरक्रिया कार्यक्रमका लागि बुधबारबाट विभिन्न जिल्लामा साताब्यापी भ्रमणमा निस्किएकी डा. संग्रौलाले बुधबार काभ्रेमा कार्यकर्ताहरुसँग अन्तरक्रिया गरेकी थिइन । साथै तेमालमा जिल्ला कार्य समिति काभ्रेको मासिक घुम्ती बैठक तथा अन्तरक्रिया कार्यक्रममा उनले सम्बोधन गरेकी थिइन ।