काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने प्रक्रियामा जनता समाजवादी पार्टी (जसपा)का ७ सांसदलाई बन्देज लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विभाजित भई बनेको अशोककुमार राई नेतृत्वको जसपाका ७ सांसदविरुद्ध आइतबार रिट दर्ता गरेका हुन्।
अध्यक्ष यादवको तर्फबाट आइतबार अधिवक्ता जयशंकर झाले रिट दायर रहेका हुन्। ‘जसपाका ७ सांसदहरूलाई प्रधानमन्त्रीको विश्वासको मतदानमा सहभागी नगराउन भन्दै रिट दायर भएको हो,’ सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले भने।
आफूहरूको रिटमा भोलिका लागि पेशी तोकिएको जसपा नेपालका प्रवक्ता मनीष सुमनले जानकारी दिए।
पार्टी विभाजनविरुद्ध जसपा नेपालले यसअघि पनि रिट दायर गरेको छ। उक्त रिटमा गत जेठ २ गते सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले जसपा नेपाल र जसपालाई जेठ ८ गते छलफलका लागि बोलाएको थियो।
तर त्यसअघि नै प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरेपछि जसपा नेपाल सर्वोच्च पुगेको हो। प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वास मतको प्रस्ताव लिने तयारी गरेका छन्।
जसपा नेपालबाट विभाजित भएर वैशाख २३ गते राई नेतृत्वमा नयाँ दल दर्ता भएको थियो। निर्वाचन आयोगले नवगठित जसपालाई वैशाख २४ गते दर्ता गरेको थियो।