दाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेले राष्ट्रपतिलाई दवाव दिएर संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि बाध्य पारेको दावी गर्नुभएको छ ।
माओवादी केन्द्र तुलसीपुर नगरकमिटिले शुक्रबार दाङको तलसीपुमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन आह्वान नभए महाभियोग लगाउने चेतावनी दिएपछि राष्ट्रपति धर्मसंकटमा परेको बताउनुभएको हो । संविधानलाई मिचेर एमाले र कांग्रेसले सरकार बनाउने ठूलो षडयन्त्र गरेको उहाँले बताउनुभयो ।
आफुले रोष्टमबाटै सरकार सुशासनको डरले बनेको भनेर भनेको स्मरण गर्दै प्रचण्डले सरकार लोकतन्त्रको भावना विपरित अपादर्शी ढंगले बनेको जिकिर गर्नुभयो ।
तेस्रो पटक सरकारको नेतृत्व गर्ने अवसर प्राप्त हुँदा आफुले यसअघिका कमिकमजोरीलाई सच्याएर जनताको पक्षमा भ्रष्टाचारविरुद्ध सुशासनको अभियान चालेकाले जनतामा माओवादी पार्टी प्रति सकारात्मक धारणा बन्दै गएको उहाले बताउनुभयो ।
माओवादी केन्द्रले पार्टीलाई लोकतान्त्रिक रुपमा सञ्चालन गर्नुका साथै माओवादी धारा र कम्युनिष्टहरुलाई एकताबद्ध गर्दै लैजाने उहाँले बताउनुभयो ।