दाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसंग सहकार्य गरेर चूनाव लड्ने कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभएको छ ।
प्रेस सेन्टर दाङले शनिबार घोराहीमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले एमालेसंगको एकता र त्यसपछिको सहकार्य धेरै दिन नटिकेको भन्दै अव एमालेसंग सहकार्य गरेर चूनाव लड्ने कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभएको हो।
उहाँले ८४ को निर्वाचन माओवादीले आफ्नै शक्तिको बलमा लड्ने निर्णय पार्टीले समेत गरिसकेको उल्लेख गर्नुभयो । प्रचण्डले माओवादीका धेरै कमिकमजोरीलाई सुधार गर्दै जनताको विश्वास जित्ने गरि अघि बढ्ने उल्लेख गर्नुभयो । उहाँले बिचौलियाहरुको सेटिङ् भत्काउन खोज्दा चलखेल गरेर असंवैधानिक रुपमा संख्याको बलमा आफुलाई हटाउने खेल भएको औल्याउनुभयो ।
अध्यादेशबाट शासन गर्ने गलत परम्परा देखिएपछि बिपक्षीहरु एक भएर सदन बोलाउन दवाव दिएकै कारण सरकारले सदन आह्वान गरेको उहाँको भनाइ छ । अध्यक्ष प्रचण्डले अव बिपक्षीहरु सामूहिक रुपमा अघि बढ्ने र समाजवादी मोर्चालाई समेत सक्रिय बनाउने धारणा राख्नुभयो ।