बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले संविधानको जिम्मा र स्वामित्व लिदै नेपाली कांग्रेस ठूलो पार्टी भएकाले सबैलाई चित्त बुझाउने समेत दायित्व कांग्रेसको हुने उल्लेख गरे ।
नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको बुधवार बुटवलमा उद्घाटन गर्दै महामन्त्री थापाले मुस्लिम समुदायको सबैभन्दा प्रिय पार्टी कांग्रेस नै रहेको बिगतका चुनावहरुका परिणामले समेत पुष्टि गरेको छ ।
थापाले तत्कालिन प्रधानमन्त्री तथा पार्टी सभापति शुशिल कोइरालाको पालामा बनेको संविधान सभापति शेरबहादुर देउवाको पालामा कार्यान्वयनमा गएकोले अहिलेको संविधानप्रति कांग्रेसले जिम्मा र स्वामित्व लिने समेत उल्लेख गरे ।
प्रतिनिधि सभा सदस्य समेत रहेका थापाले अहिले कांग्रेस एमालेको सरकारलाई असफल हुने छुट नभएको भन्दै राम्रा मात्रै काम गर्ने अधिकार रहेको समेत बताए । ‘संविधानको जिम्मा पनि लिने हो,स्वामित्व पनि लिने हो,सबैको चित्त पनि बुझाउने हो ,अरु सरकार भन्दा बाहिर रहेका पार्टीहरुसंग पनि सम्बाद गर्ने हो ।
’महामन्त्री थापाले भने संविधानमा भएका अस्पष्टता र अफ्ठ्यारा फुकाउनका लागि संविधान संशोधनको कुरा उठेको हो । प्रेस स्वतन्त्रता र नागरिकका मौलिक हक स्थापित गर्न कांग्रेसले लामो समय संघर्ष गरेकोले त्यसमा कांग्रेसले कुनै सम्झौता नगर्ने बताए ।
पार्टीको आगामी महाधिवेशन पुर्वनिर्धारित समयमै हुने भन्दै उनले महाधिवेशनसँग सम्बन्धित आवश्यक प्रक्रिया अगाडि बढाउन पनि उनले नेता कार्यकर्ताहरूलाई आग्रह गरे । कांग्रेसले स्थापनाकालदेखि समानुपातिक समावेशीताको सिद्धान्त अवलम्बन गरेको भन्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशीतालाई कांग्रेसले कहिल्यै नछाड्ने दाबी गरे ।
वर्तमान सरकार कांग्रेसले चाहेर र कांग्रेसको प्रयासका कारण गठन भएको नभई समय र परिस्थितिको उपज भएको भन्दै महामन्त्री थापाले यो तीन बर्षको अवधिलाई जनताको पक्षमा अधिकतम सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा कांग्रेस नेताहरु बालकृष्ण खाण,अब्दुल रज्जाक,देबेन्द्रराज कडेल,अब्दुल सतार,नैनसिंह महर,गंगा शाही,अमरसिंह पुन,रामकृष्ण खाँण जाकिर हुसेन,संसुधिन मिया,सवर मिया लगायतले बोलेका थिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने संघका प्रदेश सभापति जाकिर हुसेनले बताए ।