Logo

Oct 02 2026 | २०८३, असोज १६गते

लोकप्रिय

लोकप्रिय

कोइराला निवासमा खाणको उपस्थिति : कांग्रेसभित्र गुटगत तरंगको संकेत


२, साउन २०८२
  • 152
    SHARES
  • कोइराला निवासमा खाणको उपस्थिति : कांग्रेसभित्र गुटगत तरंगको संकेत

    काठमाडौं । नेपाली कांग्रेसभित्र गुटगत शक्ति सन्तुलन फेरिने संकेत देखिएको छ, जब पूर्वगृहमन्त्री तथा देउवा पक्षका शक्तिशाली नेता बालकृष्ण खाण २०८२ असार ३२ गते विराटनगरस्थित कोइराला निवास पुगे। पार्टी सभापतिका आकांक्षी डा. शेखर कोइरालाले देश दौडाहा गरिरहेकै बेला खाणजस्तो प्रभावशाली नेता कोइराला निवासमा देखिनु संयोग मात्रै नभई गहिरो राजनीतिक संकेतको रूपमा हेरिएको छ। खाणले पत्रकारहरूसँग कुराकानी गर्दै कोइराला निवासलाई “प्रजातन्त्रमा आस्था राख्ने जोकोहीका लागि मन्दिरजत्तिकै पवित्र स्थल” भनेर वर्णन गरे, जसले उनको वर्तमान सोच र मनोवृत्तिको झलक दिएको छ ।

    बालकृष्ण खाण लामो समयदेखि नेपाली कांग्रेसको संगठनमा बलियो उपस्थिति जनाउँदै आएका नेता हुन्। तरुण दलको नेतृत्वदेखि गृहमन्त्रीसम्म पुगेका उनले विशेषगरी शेरबहादुर देउवा नेतृत्वको कोर टिममा बलियो स्थान बनाएका थिए। तर, २०७९ मा नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ परेपछि उनले देउवासँगको दूरी बढाएका छन्। खाणले स्वयंले “देउवाको संकेतविना मलाई पक्राउ गरिँदैनथ्यो” भन्ने अभिव्यक्ति दिँदै आएका छन्। देउवाको मौन समर्थनका कारण आफूले अपमानित महसुस गरेको बुझाइ उनको निकटवर्तीहरूले सार्वजनिक गरिरहेका छन् ।

    पक्राउ परेपछि खाणलाई भेट्न शेखर कोइराला गोप्य रूपमा जेल पुगेका थिए, जसपछि उनीहरूबीच सम्बन्ध गहिरिँदै गएको छ । खाणले सार्वजनिक रूपमा शेखर कोइरालाप्रति सहानुभूति दर्शाउने संकेत दिन थालेका छन् । लुम्बिनीमा शेखर, डा. मिनेन्द्र रिजाल र खाणबीचको भेटघाटमा उनले दिएको ठट्टा– “अब म पनि दुई डाक्टरहरुको संगत गर्नुपर्‍यो” – लाई विश्लेषकहरूले हल्का संकेतमा व्यक्त गरिएको गम्भीर राजनीतिक झुकावका रूपमा लिएका छन् ।

    नेपाली कांग्रेसभित्रको अनुशासन समितिको कारबाहीको विषयमा पार्टीभित्र व्यापक असन्तोष छ। शेखर पक्षका नेताहरूले समितिको निर्णयप्रति आपत्ति जनाइरहेका छन् भने खाणले भने “अब के ठीक, के बेठीक भनेर केन्द्रीय समितिमा छलफल हुन्छ” भन्ने प्रतिक्रिया दिएका छन् । यो टिप्पणीबाट खाणले दुबै पक्षबीच सन्तुलन कायम गर्ने रणनीति अपनाइरहेका संकेत देखिन्छ । शेखर पक्ष महाधिवेशन समयमै हुनुपर्छ भन्नेमा अडिग छ भने खाणले पाँच वर्षभित्र महाधिवेशन सम्भव छ भन्ने धारणा व्यक्त गरेका छन् ।

    शेखर कोइरालाले देउवा पक्षका विश्वासपात्र नेताहरूमाथि प्रभाव जमाउँदै गर्दा खाणजस्तो नेता कोइराला निवासमा पुग्नु गम्भीर राजनीतिक संकेत हो। खाण हाल स्पष्ट रूपमा न शेखरको पक्षमा उभिएका छन् न देउवाको समूहमा अडिएका छन् । उनी रणनीतिक रूपमा ‘ट्रान्जिशन’ अवस्थामै देखिन्छन्। तर, हाल देखिएको नजिकपना र शेखरको सक्रिय रणनीतिले कांग्रेसभित्रको भावी गुटगत राजनीति थप रोचक र प्रतिस्पर्धात्मक बनाउने स्पष्ट संकेत दिएको छ ।

  • रुपन्देही-२ मा चुन्नप्रसाद शर्मा पौडेललाई सर्वाधिक मत

    रुपन्देही । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी आन्तरिक निर्वाचन तथा प्रतिनिधि चयन प्रक्रियामा रुपन्देही निर्वाचन

  • “परिवर्तनको संवाहक” अमरसिंह पुन : कांग्रेस महामन्त्रीमा किन उम्मेदवार ?

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले केन्द्रीय महामन्त्री

  • लोकप्रिय मतसहित निर्वाचित निर्मला क्षेत्रीको प्रतिबद्धता : “एक-एक मतको सम्मान कर्मबाट गर्नेछु”

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित निर्वाचित नेपाली कांग्रेस

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend